अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग अमेरिकाको सम्बन्ध समाप्त गर्ने घोषणा गरेका छन् ।कोरोना भाइरस महामारीलाई लिएर डब्लुएचओले चीनलाई जिम्मेवार बनाउन नसकेको आरोप ट्रम्पको छ । उनले लगातार डब्लुएचओले चीनको पक्ष लिएको अभियोग लगाउँदै आएका छन् ।
महामारी नियन्त्रणमा डब्लुएचओले गरेको प्रयास पर्याप्त नभएको र बेलैमा सचेत नगराएका कारण आफ्नो देशमा महामारी अहिलेको स्तरमा फैलिएको अभियोग ट्रम्पको छ ।तर ट्रम्पले महामारी नियन्त्रणमा नआउनुमा डब्लुएचओको कमजोर प्रयास कारक रहेको अभियोग लगाए पनि अमेरिकामा उनको प्रशासनले गरेको प्रयास पर्याप्त नभएको भन्दै गम्भीर आलोचना हुँदै आएको छ ।
डब्लुएचओसँगको सम्बन्ध समाप्त गर्ने घोषणा गर्दै ट्रम्पले भनेका छन्, ‘डब्लुएचओमाथि चीनको पूर्ण नियन्त्रण रहेको छ।’अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रकम अब अरु संस्थालाई प्रदान गर्ने उनले बताएका छन् ।डब्लुएचओका लागि अमेरिकाले अरु कुनै देश वा दातृ निकायले भन्दा धेरै सहयोग गर्दै आएको छ । सन् २०१९ मा अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन डलर भन्दा बढी सहयोग प्रदान गरेको थियो ।
अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख दुई हजार ८०० भन्दा बढीको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । त्यहाँ संक्रमितको संख्या १७ लाख ४६ हजार पुगेको छ ।
यो पनि पढ्नुहोस्-
आउँदो नोभेम्बरमा हुने चुनावका लागि अभियान चलाइरहेका ट्रम्पले शुक्रबार राष्ट्रपति कार्यालयको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा भने, ‘हामीले आजदेखि डब्लुएचओसँगको सम्बन्ध समाप्त गरेका छौँ र सहयोग रकम अरु संस्थामा जाने छ ।’
उनले अघि भने, ‘चीन सरकारको दुराचारका कारण अहिले विश्व समस्या आएको छ ।’ चीनले डब्लुएचओमाथि दबाब बनाएर विश्वलाई भाइरसका बारेमा ‘मिसलिड’ गरेको अभियोग ट्रम्पको छ ।ट्रम्पले डब्लुएचओलाई चीनको कठपुतली भएको आरोप पनि यसअघि नै लगाएका थिए।