संसद विघटनका लागि मन्त्रिपरिषदबाट सिफारिस भएपछि सत्तारुढ नेकपाकै नेताहरुले चर्को विरोध गरेका छन्। नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित कदम चालेर राजनीतिक अपराध गरेको टिप्पणी गर्नुभएको छ।
पार्टी बैठकमा आफूविरुद्धको आलोचना सुन्न तयार नभएर र बैठकको सामना गर्न नसकेर संसद विघटन गरेको नेता ज्ञवालीको भनाई छ। ज्ञवालीले नेपाल रिडर्ससँग कुरा गर्दै भन्नुभयो, ‘यो राजनीतिक रुपमा ठूलो अपराध हो।कम्युनिष्ट आन्दोलनप्रति र लोकतन्त्रप्रतिको निष्ठाबाट प्रधानमन्त्री ओली च्युत भएको भन्ने कुरा प्रमाणित हुन्छ। यो अक्षम्य अपराध हो।’ प्रधानमन्त्री ओलीले अब संसद बैठक बोलाएर संसदको सामना गर्नु पर्नेमा संसद नै विघटन गरेर संधिानको प्रावधान विपरित कदम चालेको ज्ञवालीले बताउनु भयो।
अब यसको कानुनी र राजनीतिक उपचार खोज्नुपर्ने नेता ज्ञवालीको भनाई छ। ‘प्रधानमन्त्रीले यो अन्तिम अस्त्र प्रयोग गर्नुभयो। अब यसमा कुनै क्षमा वा आत्मलोचना भन्ने विषय नै हुँदैन,’ नेता ज्ञवालीले बताउनुभयो।