Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कमरेड गोन्जालो र पेरूभियाली जनयुद्धका शिक्षा

सन् १९७५ मा गोन्जालो पेकपाको अध्यक्ष बन्नुभयो । सन् १९८१ बाट जनयुद्धको प्रत्यक्ष नेतृत्व गर्नुभयो । सन् १९९२ मा उहाँ गिरफ्तार भएपछि विजयको सन्निकट पुगेको जनयुद्धले धक्का खायो ।

पूर्णबहादुर सिंह पूर्णबहादुर सिंह
भदौ २७, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्व–मानव जातिलाई प्रज्वलित गर्न सफल कम्युनिस्ट घोषणापत्र प्रक्षेपणको १३३ वर्ष, पेरिस कम्युनको ११० वर्ष, अक्टोबर क्रान्तिको ६४ वर्ष र चिनियाँ क्रान्तिको ३२ वर्षपछि कमरेड अभिमायल गुज्मान गोन्जालोको नेतृत्वमा सन् १९८१ मा पेरूमा जनयुद्धको थालनी भएको थियो । जीवनका ८६ वसन्तहरूमा आज कमरेड गोन्जालो २८ वर्षदेखि साम्राज्यवादीहरूको आजीवन काराबासमा सर्वहारा श्रमिक जनताका पक्षमा सङ्घर्षरत हुनुहुन्छ । पेरिस कम्युनले गलहत्याएको थियर, अक्टोबर क्रान्तिले बढारेको जार, चिनियाँ क्रान्तिले धुलो चटाएको च्याङकाइसेकलगायत शक्तिलाई लुकाएर साम्राज्यवादीहरू र तिनका पाल्तु कुकुर (दलाल) हरू कसैले क्रान्तिको झन्डा उठाएमा ‘गोन्जालो’ बनाइन्छ जस्ता शब्दाडम्बरले प्रलाप गरिरहेका छन् ।

    सामाजिक साम्राज्यवादी र संशोधनवादीहरूको पराजयलाई समाजवाद–साम्यवादको असफलता एवम् अन्त्य देखाउने, बकबास गर्ने र ऐलान गर्ने साम्राज्यवादी (संशोधनवादी) हरूको हल्ला हावामा उड्दैछ । पूर्वी युरोप, सोभियत सङ्घ, मध्यपूर्व र एसियामा समाजवादमा संशोधनवादीहरू हाबी भए । साम्राज्यवादले हस्तक्षेप एवम् घुसपैठ गर्‍यो र प्रतिक्रान्ति भयो । अनि साम्राज्यवादका पाल्तुहरूले कथित प्रजातन्त्रको विजय र समाजवाद–साम्यवादको असफलता भएको होहल्ला मात्र होइन, ‘इतिहासको अन्त्य भयो‘, ‘विचारधारात्मक युगको अन्त्य भयो’ भनेर घोषणा गर्न थाले । उत्तरआधुनिकतावाद उत्तरसाम्राज्यवादले अघि सारेको यो दृष्टिकोण डानियल बेलबाट सुरु भएर र फुकुयामाको ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ भन्ने किताबले चर्चा कमायो ।

    बर्लिन पर्खालभन्दा भयानक ढङ्गले जब ११ सेप्टेम्बरमा अमेरिकाका जुम्ल्याहा भवन ढले अनि त्यसले हावा खायो । प्रकृति विज्ञानमा आएको उथलपुथल र विज्ञान तथा सूचनाप्रविधिमा छाएको अभूतपूर्व क्रान्तिले मानव समाजमा पनि नवीन चेतनाको उजागर भइरहेको छ । कोरोना महामारीले पुँजीवाद (साम्राज्यवाद) को वास्तविक रूप र सार छर्लङ्ग भएको छ । ‘मानिसको विश्व–व्यापकताले व्यवहारमा प्रकृतिलाई उसको अजैविक हिस्सा बनाइदिन्छ’ (इकोनोमिक एन्ड फिलोसोफिकल म्यानुस्क्रिप्ट अफ १८४४) मा माक्र्सले भनेझैँ साम्राज्यवादीहरूले गरेको प्राकृतिक दोहन, प्रदूषण र विध्वंसले प्राकृतिक विपत्ति तथा मानवीय शोषण, उत्पीडन र विभेदले ठूलो सङ्कट पैदा गरिरहेको छ । विश्व–मानव जातिले नयाँ विकल्प खोजिरहेको छ– उत्तरसाम्राज्यवादको अन्त्य र वैज्ञानिक समाजवाद ।

    आज हामी अक्टोबर क्रान्ति १०३ वर्ष, चिनियाँ क्रान्ति ७१ वर्ष र पेरिस कम्युन १४९ वर्षभन्दा नयाँ दुनियाँमा छौँ । विश्व–कम्युनिस्ट आन्दोलन (क्रान्ति–प्रतिक्रान्ति), समाजवादले खाएको धक्का, उत्तरसाम्राज्यवादी सङ्कट, नेपाली जनयुद्धको असफलता आदिको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व–दृष्टिकोणका आधारमा सकारात्मक एवम् नकारात्मक शिक्षाहरूको विश्लेषण र संश्लेषण गर्दै एकीकृत जनक्रान्तिको नयाँ मार्गमा अघि बढिरहेका छौँ । कमरेड गोन्जालो मूलतः पेरूभियाली जनयुद्धको अध्ययन र केही शिक्षाका सम्बन्धमा यहाँ छोटो चर्चा गरिनेछ ।

    १) कमरेड गोन्जालो

    पेरू कम्युनिस्ट पार्टी (साइनिङपाथ) का अध्यक्ष डा. अभिमायल गुज्मान रेनोसो (गोन्जालो) डिसेम्बर १९३४ मा एरक्वेपा, एन्डिज शृङ्खला, पेरूमा जन्मनुभएको हो । सन्त अगस्तिन विश्वविद्यालय एरक्वेपाबाट दर्शनशास्त्रमा सन् १९६१ मा उहाँले विद्यावारिधि गर्नुभएको हो । सन् १९६२–१९७४ सम्म दर्शनशास्त्र विभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरूमा उहाँले १२ वर्ष प्राध्यापन पनि गर्नुभयो । उहाँको फरवरी १९६४ मा अगस्टा ला टोरेसँग वैवाहिक सम्बन्ध कायम भयो तर २६ वर्षपछि सन् १९९० मा अगस्टा ला टोरेको मृत्यु भयो ।

    सन् १९४५ मा भएको साम्राज्यवादी दोस्रो विश्वयुद्धमा फासिवादको पराजयको खुसीयालीमा पेरूका वामपन्थीहरूको आयोजनामा जुलुस निकालिएको थियो । कमरेड गोन्जालो पहिलोपटक त्यहीँबाट गिरफ्तार हुनुभयो । सन् १९४६ मा कम्युनिस्ट योङ ब्रिगेडको सदस्यबाट उहाँको सङ्गठित राजनीतिक जीवन प्रारम्भ भयो । उहाँले सन् १९५२ मा पेकपाका संस्थापक होसे मारिएतेगका केही कविताहरूको क्वेचो भाषामा अनुवाद र सन् १९५३ मा कम्युनिस्ट स्टडी सर्कल, एरक्वेपाको स्थापना पनि गर्नुभयो ।

    सन् १९५६ मा ‘विषालु हावाविरुद्ध जुधौँ’ भन्ने उद्घोष गर्दै पेकपाको तत्कालीन नेतृत्वको विरोधमा गोन्जालो खरो उत्रिनुभयो र एरक्वेपा विश्वविद्यालयको छात्र सङ्घको अध्यक्षमा पनि निर्वाचित हुनुभयो । उहाँले सन् १९६५ मा चीन भ्रमण गर्नुभयो । कमरेड गोन्जालो सन् १९६६ मा पेकपाको केन्द्रीय सदस्य, सन् १९६६ मा कम्युनिस्ट भएको आरोपमा पुनः गिरफ्तार तर विश्वविद्यालयमा विरोधपछि तीन दिनमा रिहा हुनुभयो । सन् १९७५ मा उहाँ पेकपाको अध्यक्ष बन्नुभयो । सन् १९८१ बाट जनयुद्धको प्रत्यक्ष नेतृत्व गर्नुभयो । सन् १९९२ मा उहाँ गिरफ्तार भएपछि विजयको सन्निकट पुगेको जनयुद्धले धक्का खायो ।

    २) क्रान्तिकारी पार्टीको पुनर्निर्माण

    क) पृष्ठभूमि

    जोसे मारिएतेग पेकपाका संस्थापक हुनुहुन्थ्यो । उहाँले माक्र्सवादी–लेनिनवादी जगमा पार्टी खडा, स्पष्ट विचारधारात्मक अडान प्रदान र पार्टीलाई आम नीतिगत कार्यदिशा प्रदान गर्नुभएको थियो । उहाँले जन्माएको महान् माक्र्सवादी पार्टीलाई दरिलो तुल्याउन, विकसित गर्न र आफ्नो ऐतिहासिक कार्यभार पूरा गर्न समयको खाँचो पर्दथ्यो । मारिएतेग संशोधनवादविरोधी हुनुहुन्थ्यो । उहाँको सङ्घर्ष संसदीय जीर्णवादका विरुद्ध थियो । मारिएतेगले भन्नुभएको थियो, ‘हिंसाद्वारा नै सत्तामाथि विजय प्राप्त गर्न सकिन्छ र अधिनायकतन्त्रद्वारा नै यसको प्रतिरक्षा गर्न सकिन्छ । संसद्मा जस्तोसुकै बहुमत किन नहोस्, त्यसले केवल मन्त्रिमण्डललाई खारेज गर्न सक्छ तर बुर्जुवा वर्गलाई भने कदापि खारेज गर्न सक्दैन ।’ तथाकथित नववामपन्थ मारान्तेस, अर्कोस्ता (१९४५), हाया दे ला तोरे (कोमिङ्ताङजस्तै संयुक्त मोर्चा) यी सबैमा बदनामी, बर्बादी र पाखण्डपूर्ण कपट थिए । देल प्रादोको संशोधनवादी गुटलाई बढार्न र निष्कासन पारदेजको समूह जसले पार्टीभित्र अर्को पार्टीको रूप धारण गरेका थिए । पात्रिया रोजाको तथाकथित चिङकाङ समूह र बोल्सेबिक समूह पनि थिए । आयाकुचो केन्द्र भएको क्रान्तिकारी समूह थियो । सन् १९७५ मा ‘मारिएतेगको बाटो फेरि समातौँ र उहाँको पार्टीको पुनर्निर्माण गरौँ’ भन्ने पुस्तिका प्रकाशित भयो ।

    ख) संशोधनवादविरुद्ध निर्मम सङ्घर्ष

    संशोधनवादबिरोधी सङ्घर्षको अवधि साठीको दशकको आरम्भदेखि नै बढी स्पष्ट र गहन रूपले क्रमशः विकास भयो । यस प्रक्रियाले पार्टीका सदस्यहरूलाई संशोधनवादी नेतृत्वविरुद्ध एकताबद्ध हुने र तिनलाई निष्कासन गर्ने दिशातर्फ सन् १९६४ को चौथो सम्मेलनले डोर्यायो । सन् १९६५ को पाँचौँ सम्मेलनको कार्यदिशामा क्रान्तिका तीन साधनसम्बन्धी समस्याको सामना गर्नुपरेको थियो । पात्रिया रोजा दक्षिणपन्थी अवसरवादी थिए । उनले माओवादको अस्वीकार, क्रान्तिको अस्वीकार गरेका थिए । पारदेजको समूहले पार्टी पुनर्निर्माणको अस्वीकार गरेर अन्तत्यमा स्वघोषित बोल्सेबिक र क्रान्तिकारी कहलाएको थियो ।

    पार्टी इतिहासका तीन भाग समकालीन समाजका तीन क्षेत्रसँग परस्पर सम्बन्धित छन्— पहिलो, पार्टीको संविधान– जोसे कार्लोस मारिएतेगको कार्यदिशाको विपरीत तथाकथित राष्ट्रिय एकताको कार्यदिशा अङ्कित भएको विधानको अनुमोदन भयो । त्यसपछि दोस्रो, पार्टीको पुनर्निर्माण र तेस्रो, जनयुद्धको नेतृत्व (सन् १९८१) हुन् । पेकपाले हासिल गरेका शिक्षाहरू छन् । पार्टी एकताको आधारको महत्व र दुई लाइन सङ्घर्षसित पार्टीको सम्बन्ध र यसका पनि तीन तत्व छन्— पहिलो, मालेमावाद–गोन्जालो विचारधारा, दोस्रो, कार्यक्रम र तेस्रो, आम नीतिगत कार्यदिशा । क्रान्तिकारी पार्टी पुनर्निर्माण प्रक्रिया र सङ्घर्ष सन् १९७८–१९७९ सम्म चल्यो ।

    ग) दुई लाइन सङ्घर्षको मान्यता

    ‘दुई लाइन सङ्घर्षबेगर पार्टी एकताको आधार नै हुन सक्दैन । पार्टीभित्र दुई लाइनबीचको दृढ र बुद्धिमतापूर्ण सङ्घर्षबेगर विचारधारालाई दृढतासाथ ग्रहण गर्न, कार्यक्रम वा आमनीतिगत कार्यदिशालाई स्थापित गर्न, तिनको रक्षा गर्न, लागू गर्न र विकसित गर्दै लैजान असम्भव हुन्छ । यो आधारभूत कुरा हो र अन्तरविरोधको नियमको विश्वव्यापी चरित्रअनुसार पार्टी एक अन्तरविरोधका रूपमा रहन्छ’ भन्ने गोन्जालोको ठम्याइ छ ।

    घ) आरोप र प्रतिवाद

    साम्राज्यवादीहरूले पागल, धर्मान्ध, रक्तपिपासु, पोलपोटवादी, जडसूत्रवादी, साम्प्रदायिक र लागूपदार्थमुखीजस्ता आरोपहरू पेकपामाथि लगाएका थिए । गोन्जालोले ‘यो त रतन्धाको अड्कलबाजी, कोरा प्रतिलिपि र शाब्दिक नक्कलबाजी आरोप हो’ भनेर कडा प्रतिवाद गर्नुभएको थियो ।

    ङ) कम्युनिस्ट पार्टी

    गोन्जालोले पार्टी खुला जनपार्टी (Mass party) होइन, तर यो जनचरित्रयुक्तचाहिँ हो । ‘आफ्ना असल तत्व भएका मानिसहरूको सङ्गठन हो’ भन्ने स्टालिनको भनाइलाई जोड दिनुभएको छ । उहाँले ‘यो जनचरित्रयुक्त हुन्छ किनभने यो छानिएका, अति उत्तम र प्रमाणित भएका मानिसहरूको सङ्गठन हो । यो अजङ्गको जनसमूहको अनुपातमा सङ्ख्यात्मक रूपले सानो हुन्छ । यो पार्टीले सर्वहारा वर्गको हितको रक्षा, प्रतिनिधित्व र मुक्तिको दायित्व वहन गर्दछ जुन साम्यवादमा प्राप्त हुनेछ । क्रान्तिमा जनताको अङ्गका रूपमा अरु वर्गहरूको पनि कार्य गर्ने भएकाले बाँकी उत्पीडित वर्गहरूलाई मुक्त गरेर मात्र आफूलाई मुक्त गर्न सक्छ । पार्टी सङ्गठनहरूको प्रणाली हो । यो आफ्ना शक्तिहरूको भरोसामा चल्दछ । १५ करोड जनतामा बोल्सेबिक ८० हजार थिए’ भनेर ठोस उदाहरण दिनुभएको छ ।

    च) पार्टीलाई भरथेग गर्ने मित्र शक्तिहरू

    गरिब, किसान, बौद्धिक समुदाय, निम्नपुँजीपति वर्ग, अघि बढेका मानिसहरू, क्रान्तिकारी र आमूल परिवर्तन चाहने मानिसहरू (किसान र मजदुर) हुन् । स्वनिर्णय, स्वाधीनता, सामञ्जस्य र स्वभरोशा हो । अन्तर्राष्ट्रिय सर्वहारा वर्ग, उत्पीडित राष्ट्र, विश्वका जनता, दृढ र बफादार पार्टी सङ्गठनहरू अन्तर्राष्ट्रियतावादको ठोस पहिलो सहयोग हो । यो पहिलो महान् सहयोग नै आफ्नोे सङ्घर्ष हो ।

    ३) विचारधारात्मक विकास

    प्रथम महाधिवेशनले पार्टी र जनयुद्धलाई जन्माएको र जसले लामो बाटोको मूल्याङ्कन, पार्टीको एकताको आधार स्थापित, विचारधारा मालेमावाद र गोन्जालो विचारधारा, कार्यक्रम तथा आमराजनीतिक कार्यदिशा दृष्टिक्षितिजभित्र रहेको सत्तामाथि विजय प्राप्त गर्ने दिशानिर्देश गरेको थियो । गोन्जालोले माओवादबारे ‘माक्र्सवाद भनेको विकासको प्रक्रिया हो । द्वन्द्वात्मक एकता हो जसले ठूल्ठूलो फड्को मार्छ र यी नै त्यस्ता तत्वहरू हुन् जसले चरणहरू पैदा गर्दछन्’ भन्नुभयो । माक्र्सवादका तीन एकीकृत अङ्गहरूको विकास– दर्शनमा केन्द्रीय रूपले अन्तर्विरोधको नियम आधारभूत, राजनीतिक अर्थशास्त्रमा, नोकरशाही पुँजीवाद र समाजवादको राजनीतिक अर्थतन्त्रको विकास र वैज्ञानिक समाजवादमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको विकसित सैनिक सिद्धान्त जनयुद्धको प्रयोग र विकास ।

    ‘गोन्जालो विचारधारा– मालेमावाद लागू गर्ने क्रमको उपज र जनयुद्धको विकासक्रममा एक फड्को हो । सारभूत रूपमा गोन्जालो विचार भनेको केवल हाम्रो देशको क्रान्तिका लागि प्रमुख कुरा हो । विशिष्ट रूपले हाम्रो दृष्टिमा विचारधारालाई विश्वव्यापी सन्दर्भमा माओवाद प्रमुख कुरा हो’ भन्नुभयो । उहाँले संशोधनवादलाई पुरानो, नयाँ र समकालीनमा विभाजन गरेर त्यसका विरुद्ध निर्मम सङ्घर्ष गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘जुन कुरा सच्चा रूपले माक्र्सवादी छ र जेले क्रान्तिको सेवा गर्दछ तिनका विरुद्ध सोभियत संशोधनवाद एक हजार एक उपायबाट जुध्ने गर्दछ । हामीले संशोधनवादविरुद्ध विचारधारात्मक, आर्थिक र राजनीतिक सबै स्तरबाट अथक र निर्मम रूपले कर्तव्यनिष्ट भएर जुध्नुपर्छ ।’

    नेतृत्वबारे गोन्जालो भन्नुहुन्छ, ‘ऐतिहासिक आवश्यकता र संयोगद्वारा हाम्रो पार्टीमा, क्रान्तिमा र जनयुद्धमा पनि सर्वहारा वर्गले नेताहरूको एक समूह जन्माएको छ । नेताहरू र एउटा नेतालाई जन्म दिन त आवश्यकता नै हो तर विशिष्ट रूपमा उनीहरू को होलान् भन्ने कुराचाहिँ संयोगद्वारा निर्धारित हुन्छ । अर्को शब्दमा कुनै निश्चित स्थान र कालमा ठोस रूप ग्रहण गर्ने विशिष्ट परिस्थितिहरूको शृ्खलाद्वारा नै निर्धारित हुन्छ । यसप्रकार हाम्रो मामिलामा पनि एउटा नेतृत्वको जन्म भएको छ । सन् १९७९ को विस्तारित सम्मेलनमा यसलाई पार्टीमा स्वीकार गरियो । नेतृत्व विकासको स्तर जुनसुकै होस्, विचारको जगमा जीवित नरहेको नेतृत्व हुनै सक्दैन । जो प्रवक्ता हो उही पार्टी र क्रान्तिको नेता बनेको छ ।

    यो ऐतिहासिक आवश्यकता र संयोगसँग, स्पष्टतः गोन्जालो विचारसँग सम्बन्ध छ । हामीमध्ये प्रत्येकलाई क्रान्तिले के बनाउँछ भन्ने थाहा हुँदैन । विशिष्ट रूप दिने र जिम्मेवारी बहन गर्ने हो । निर्देशक आङ्गिक पद हो, नेता र नेतृत्व लामो समयको सङ्घर्षद्वारा आर्जित र प्रमाणित पार्टीको क्रान्तिकारी प्राधिकार हो ।’

    संशोधनवादीहरूले व्यक्तिपूजाको आरोप लगाए । त्यसका विरुद्ध उहाँ भन्नुहुन्छ, ‘यो एउटा बहाना हो । सर्वहारा वर्गको अधिनायकत्वविरोधी, यो संशोधनवादी विचार हो र नेतृत्वविरुद्ध बन्चरो गिँड्ने दाउ हो ।’

    ४) सैनिक सिद्धान्त र जनयुद्धको विकास
    क) तात्कालीन परिस्थिति

    पेरूमा राजनीतिक रूपले– अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट नोकरशाही पुँजीवाद, दोस्रो विश्वयुद्धपछि नोकरशाही पुँजीवादी सङ्कट र साम्राज्यवादी प्रभुत्व थियो भने अन्तर्राष्ट्रिय रूपमा उत्पीडित राष्ट्र र साम्राज्यवादी महाशक्तिबीच, सर्वहारा वर्ग र पुँजीपति वर्गबीच र अन्तरसाम्राज्यवादी शक्तिबीच अन्तरविरोध विद्यमान थियो ।

    ख) जनयुद्धको महत्व

    यससम्बन्धमा गोन्जालो भन्नुहुन्छ, ‘क्रान्तिकारी हिंसा, हिंसा नै एक मात्र त्यस्तो साधन हो जसले देशलाई सेनाको सहाराले र जनयुद्धद्वारा मूलभूत अन्तरविरोध हल गर्ने अवसर दिन्छ । यो एक वर्गको स्थानमा अर्को वर्गलाई खडा गर्ने ।’ उहाँले कमरेड माओको ‘हिंसाबिना अपवाद एक विश्वव्यापी नियम हो’ र माक्र्सको ‘हिंसा भनेको इतिहासको सुडेनी हो’ भनाइद्वारा जनयुद्धको महत्व पुष्टि गर्नुभएको छ । युद्धका दुई पक्षहरूमा जोड दिँदै गोन्जालोले भन्नुभएको छ, ‘एउटा विनास र अर्को निर्माण । निर्माण प्रमुख हो । जुन बेलादेखि जनताले पुरानो व्यवस्थाको तख्ता पल्टाउनका लागि हतियार उठाउँछन् त्यस बेलादेखि नै प्रतिक्रियावादले त्यसलाई चकनाचुर पार्न, नष्ट गर्न र सखाप पार्न खोजिहाल्छ र आमहत्यालगायत आफ्नो हातमा उपलब्ध सारा साधनहरूको प्रयोग गर्दछ । शत्रु सेनालाई ध्वस्त पार्नु र आफ्नो सेनाको रक्षा गर्नु हाम्रो सिद्धान्त हो । शत्रुलाई सखाप पार्न, आफ्नोे फौजको रक्षा गर्न र विकसित तुल्याउन हामीले युद्धको मूल्य चुकाउनु पर्नेछ । सबै क्रान्तिकारी आन्दोलनलाई आत्कवादको बिल्ला लगाएको साम्राज्यवादले र खास गरेर रेगनले नै हो ।’

    लेखक:- पूर्णबहादुर सिंह

    लेनिनलाई उद्धृत गर्दै गोन्जालो अझै जोड दिनुहुन्छ, ‘जनक्रान्तिका सूत्रपातकर्ता अमर रहून् । यो कुनै घृणित व्यक्तिविरुद्धको षड्यन्त्र र प्रतिशोधपूर्ण कार्य होइन । यो आशाहीनताबाट उब्जेको उपाय र आत्कित तुल्याउने सोझो कार्य होइन । यो त थालनी हो । यो राम्रोसँग सोचिएको, तयारी गरिएको र सैन्य शक्तिको परस्पर सम्बन्धको दृष्टिबाट आँकिएको कुरा हो । यो त क्रान्तिकारी सेनाका डफ्फाहरूको कारबाहीको थालनी हो । अब बम फाल्ने व्यक्तिको हतियार बन्न छोडेर जनताको सामरिक सामग्रीको आवश्यक तत्व हो । समय फेरिएको छ । बम त वर्ग र जनताको लड्ने हतियार बन्न गएको छ । यो त अब कुनै षड्यन्त्र र एक्लो वैयक्तिक कार्य नभएर योजनासहितको, प्रणालीसहितको र सेनासहितको पार्टीको कार्य बन्न गएको छ ।’

    प्रतिक्रियावादी तथा संशोधनवादीहरूको आरोपको खण्डन गर्दै उहाँले धज्जी उडाउनुभएको छ, ‘देल प्रादोजस्ता प्रतिक्रियावादी आफ्ना पाउमुनिको धर्ती कामेकाले गर्दा घोर निराशासाथ स्थितिलाई हेर्ने गर्दछन् । तिनीहरू जनयुद्धलाई ढाकछोप गर्ने दाउले आत्कवादको आरोप लगाउँछन् ।’

    ‘कुनै पनि कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यभार वर्ग र जनताको सत्तामाथि विजय प्राप्त गर्नु हो । पार्टी निर्माण र ठोस परिस्थितिको विश्लेषण गरिसकेपछि यसले विजयको कार्यभार पूरा गर्ने प्रयास गर्नुपर्छ’, उहाँले भन्नुभएको छ ।

    ग) जनयुद्धले पार्टीमा गरेका परिवर्तनहरू

    मालेमावादलाई बुझ्न र लागू गर्न, पार्टीको सैनिकीकरण, पार्टीको केन्द्रीकरण, जनछापामार सेनाको निर्माण र विकास । जनसेनामा तीन प्रकारका शक्तिको निर्माण– प्रमुख शक्ति, स्थानीय शक्ति र आधार शक्ति ।

    घ) जनताको प्रतिरक्षार्थ क्रान्तिकारी मोर्चाको गठन

    ग्रामीण क्षेत्रमा जनप्रतिरक्षार्थ क्रान्तिकारी मोर्चाको गठन गरियो । यसलाई जनसमितिका रूपमा, एक ठोस सत्ताका रूपमा साकार रूप दिइयो । एक क्षेत्रका यी जनसमितिहरू मिलेर एउटा आधारइलाका निर्माण र यी सारा आधारइलाकाहरूलाई एकमुष्ठ रूपमा नौलो जनवाद निर्माणरत जनगणतन्त्रमा विकास गरियो । जनप्रतिरक्षाका लागि सञ्चालन गरिने क्रान्तिकारी आन्दोलनद्वारा सहर समिति गठन र स्थापित गरिए । यसले पनि सहरमा जनयुद्ध लड्न, शक्ति जम्मा पार्न, प्रतिक्रियावादी व्यवस्थालाई अन्तरध्वंश गर्न र भोलिको विद्रोहका निम्ति वर्गहरूलाई एकीकृत गर्न ढोका खोल्नमा सघाउ पुर्याउने उद्देश्य ठोस गरिएको थियो । गोन्जालोले यसमा जोड दिँदै भन्नुभएको छ, ‘हामी सदासर्वदा सिद्धान्तहरू र हाम्रो यथार्थका ठोस परिस्थितिमा ध्यान दिने गर्दछौँ । ग्रामीण क्षेत्रमा नयाँ शक्तिको विकास गरेर क्रान्तिको अन्तिम भागमा सहरमा यसको विकास गरिनेछ ।’

    ङ) पेरूको जनयुद्धका विशिष्टताहरू

    सन् १९६८ मा जनयुद्धको रूपरेखा निर्धारण, ग्रामीण क्षेत्र र सहरमा सञ्चालन । ग्रामीण क्षेत्रको सङ्घर्ष प्रमुख र सहरलाई पूरक (१९७६) बनाइयो । जनयुद्धको थालनीमा प्रहरीसँग टक्कर, ग्रामीण क्षेत्रमा ठूलो सैन्य शक्तिलाई परास्त नगरेर नै नयाँ सत्ताको स्थापना (सन् १९८२ मा सेना आयो) भयो । डफ्फाबाट प्लाटुन र छापामारहरूको व्यापक विस्तार, सैन्यीकृत पार्टीको निर्माण, स्वनिर्णय, स्वाधीनता, सामञ्जस्य र स्वभरोशामा जोड दिइयो । विचारधारात्मक रूपले मालेमावादप्रति समर्पित पार्टी, सेना र जनता मूल आधार रहनु ।

    ‘अपर्याप्त वर्गभेद, समाजवादी क्रान्ति वा क्रान्तिको नक्कल, राष्ट्रिय पुँजीपतिबेगर संयुक्त मोर्चा, आधारइलाका अनावश्यक र पार्टी निर्माण अनावश्यक ठान्ने’ प्रवृत्तिलाई गोन्जालाले क्युबावादका ५ चरित्रहरू बताउनुभएको छ । एन्डिज पर्वत–मेरुदण्डका रूपमा रहेको पहाडी क्षेत्र, उत्तर भूमध्ये रेखादेखि दक्षिण बोलिभिया– चिलीेसम्म, जङ्गल र समुद्रको उपल्लो भूभागमा आधारइलाका निर्माण गरियो । भिडन्तका दुई पक्ष थिए– कमजोर र अस्थायी रूपले बलियो । तीन अवधि– रणनीतिक प्रतिरक्षा, सन्तुलन र आक्रमण थिए । शत्रुबाट खोस्ने, उत्पादन गर्ने र किन्ने तीन तरिकाले हतियार प्राप्त गरियो ।

     

    ५) केही अनुकरणीय पक्ष

     

    क) सबैको एउटै प्रतिज्ञा

    पुरानो समाजसँग सम्बन्धविच्छेद गर्नु, क्रान्तिप्रति पूर्ण रूपले समर्पित हुनु, आफ्नो जीवनलाई आहुती दिन तयार हुनु र सबैले जनयुद्धको सूत्रपातकर्ता बन्ने दायित्वलाई शिरोपर गर्नु । ‘यसको साकार रूप कुनै व्यक्ति लडाकु बन्नुअघि वर्गसङ्घर्षका क्रममा भाबी लडाकुको स्वरूपमा ढालिँदै जाँदा सुरु हुन्छ । पार्टीले उसका गुण, अवस्था र कमीको समेत विश्लेषण गर्दछ । ऊ लायक ठहरिएमा लडाकुको दर्जा दिन्छ’ भनेर मर्मस्पर्शी ढ्गले गोन्जालोले स्पष्ट गर्नुभएको छ ।

    ख) कम्युनिस्ट र साहसिक बनाउने प्रेरक तत्वहरू

    गोन्जालोले ‘समाज, वर्गसङ्घर्ष, सर्वहारा वर्ग र पार्टीको विचारधाराले कम्युनिस्टलाई साहसिक बनाउँछ’ भन्नुभएको छ । उहाँले कम्युनिस्ट बन्नका लागि ‘पार्टीमा क्रमबद्ध विचारधारात्मक निर्माणको प्रक्रिया, पार्टीले कम्युनिस्ट बनाउँछ, युद्धद्वारा सबल लडाकुपन जसले युद्धको नेतृत्व गर्न पार्टीमा प्रवेश गर्छ ऊ सबल लडाकुका रूपमा विकसित हुन्छ । विचार, राजनीति र युद्धले दरिलो तुल्याउँछ । हाम्रो मस्तिष्कमा भएको लालदिशा जुन प्रमुख हो, त्यसको उल्टो दिशाका बीचमा सधैँ अन्तरविरोध हुने गर्छ । शतप्रतिशत कोही पनि हुँदैन । हाम्रो मस्तिष्कमा दुई लाइन सङ्घर्ष चलिरहन्छ’ पनि भन्नुभएको छ ।

    ग) रूपान्तरणकारी अभियान

    ‘धर्म शोषणकारी सामाजिक वस्तुस्थितिको उपज हो । शोषणलाई बढारेर मिल्काउँदै जाँदा र नयाँ समाजको उदयसँगै यो स्वयम् लोप भएर जानेछ । यसले आफूलाई व्यवस्थाअनुकूल ढाल्छ । फेरि एकपटक नयाँ शोषकहरू र उत्पीडकहरूको सेवा गर्ने साधन बन्दछ । यो धर्मकारीको तहगत व्यवस्थासँग, पदसँग र धर्मतन्त्रसँग सम्बन्धित छ । यसले रोम युगमा नै आफूलाई सङ्गठित तुल्याउन र शक्तिशाली साधनमा फेर्न सिक्यो । सामन्तवादी र पुँजीवादी व्यवस्थाकालमा आफूलाई त्यसैअनुकूल ढाल्यो । तर प्रत्येक परिस्थितिमा यसले जनसङ्घर्षलाई दमन गर्यो र विचारधारात्मक रूपले एक प्रतिक्रियावादी ढाल बनेर उत्पीडकहरू र शोषकहरूको प्रतिरक्षा गर्यो । जनतामा धार्मिकता हुने गर्दछ । शोषण र उत्पीडन नष्ट र विलीन हुँदै जाँदा धर्म स्वयम् पनि विलीन हुनेछ । स्पष्ट, वैज्ञानिक र विश्व–रूपान्तरणकारी अन्तःस्करणको विकास नगरुन्जेलसम्म धार्मिक चेतनाको स्वतन्त्रतालाई मान्यता दिइनुपर्छ’ भनेर उहाँले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण प्रस्ट रूपले व्यक्त गर्नुभएको छ ।

    घ) चुनौती र जैविक आशावाद

    ‘हामीजस्ता कम्युनिस्टहरू कोहीदेखि पनि डराउँदैनन् । पार्टीले हामीलाई खारेर मृत्युलाई हाँक दिनसक्ने र क्रान्तिले मागेको क्षणमा ज्यान अर्पण गर्नका लागि ज्यान हत्केलामा बोकेर हिँड्ने तुल्याइदिएको छ ।’ गोन्जालोमा ‘भावना र खिन्नताभन्दा बोध र सङ्कल्प, पाठ सिक्नु र असल पक्षहरूलाई लिएर काम गर्नु र साम्यवादले मानिसलाई एकीकृत तुल्याउँछ’ भन्ने क्रान्तिकारी जैविक आशावाद बलियो छ ।

    ङ) नेतृत्वलाई खार्नु

    ‘नेतृत्व भनेको मूल कुरा हो । नेतृत्व हचुवा खालको हुनु हुँदैन । जनयुद्धको नेतृत्व बन्नसक्ने गरी खार्नका लागि लामो समय, कठोर प्रयास र उत्साहपूर्ण सङ्घर्षको खाँचो पर्दछ’, गोन्जालोले भन्नुभएको छ, ‘सत्ताको विजयलाई सुदृढ तुल्याउनु र प्रतिक्रियावादीहरूको भन्दा श्रेष्ठ खालका सत्ता संयन्त्रहरूको निर्माण गर्नु ।’

    च) सर्वहारा अन्तर्राष्ट्रवाद

    अन्तर्राष्ट्रिय सर्वहारा वर्गको एक अङ्गको रूपमा सदासर्वदा आफ्नो ढोका खुला राख्नु, क्रान्तिलाई सदासर्वदा विश्वक्रान्तिको अङ्गका रूपमा ग्रहण गर्नु र पार्टीले विश्वक्रान्तिको सेवा गर्नका निमित्त जनयुद्धको विकास गर्नु ।

    अन्त्यमा

    साम्राज्यवादी प्रतिविद्रोह, प्रतिदीर्घकालीन जनयुद्ध र कम घनत्वको युद्धरणनीतिको धरापमा परेको पेरूको जनयुद्धले विश्वका सबै क्रान्तिकारीहरूलाई महत्वपूर्ण शिक्षा दिएको छ । उत्तरसाम्राज्यवादको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सामारिक (सैन्य), प्राविधिकलगायत विशेषताहरूविरुद्धको सङ्घर्ष (प्रतिरोध) र विजय एकीकृत जनक्रान्तिको कार्यदिशा र वर्तमान सबै सङ्कटको समाधान वैज्ञानिक समाजवाद–साम्यवाद नै हो । कमरेड गोन्जालो लालसलाम !

    मुख्य स्रोतहरू :
    – कमरेड गोन्जालोका विचारहरू
    (सन् १९८९ मा एल दिएरियो पत्रिकामा दिइएको अन्तर्वार्ता)
    अनु. खगेन्द्र स्ग्रौला
    प्रकाशक: पेरूको क्रान्तिको समर्थक समिति , नेपाल २०४९
    – नौलो बिहानी मासिकका विभिन्न अङ्कहरू
    – जनशिक्षा मासिकका विभिन्न अङ्कहरू
    – एकीकृत जनक्रान्ति, दोस्रो संस्करण

    eratokhabar बाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पूर्णबहादुर सिंह

      पूर्णबहादुर सिंह

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.