मान्छे मारेर पनि अमेरिकी प्रहरी किन विरलै दोषी ठहरिन्छन्?

संयुक्त राज्य अमेरिकामा प्रहरीले बर्सेनि १,२०० जना मानिसहरूको हत्या गर्ने ठानिएको भएपनि लगभग ९९ प्रतिशत घटनामा सम्बन्धित प्रहरी अधिकारीमाथि अपराध गरेको अभियोग दायर गरिँदैन।मिनिसोटामा प्रहरीले जोर्ज फ्लोइडको हत्या गरेपछि उत्पन्न सार्वजनिक दबाव, प्रदर्शन र दङ्गालाई ध्यान दिँदै यस पटक अभियोग लगाइएको छ।

एक प्रहरी अधिकृतमाथि मिनीयापलिसमा मे २५ मा घोप्टो पारेर लडाइएका फ्लोइडको घाँटीमा घुँडाले थिचेर ज्यान लिएको आरोप लगाइएको छ।घटनास्थलमा उपस्थित तीन जनालाई अपराध गर्न सहयोग गरेको र मतियार बनेको अभियोग लगाइएको छ।

प्रदर्शनकारीहरूले फ्लोइडको मृत्युले कर्तव्य पालनाको सिलसिलामा हुने प्रहरी हत्यासम्बन्धी कानुनमा व्यापक परिवर्तनको बाटो खोल्ने अपेक्षा गरिरहेका छन्।ज्यान लिने प्रहरी अधिकृतहरूमाथि अमेरिकामा खासै मुद्दा चलाइँदैन किनभने अमेरिकी कानुनले उनीहरूलाई संरक्षित गरेको छ।

कारबाहीबाट जोगिने क्रम
प्रहरी हिंसाको तथ्याङ्क राखेको एउटा परियोजनाले सन् २०१३ देखि २०१९ को बीचमा अमेरिकामा प्रहरीबाट भएको थाहा भएका हत्याको सङ्ख्या ७,६६६ रहेको जनाएको छ। त्यो त्यस्ता हत्याको ९२ प्रतिशत भएको हुन सक्ने अभियानकर्ताहरू बताउँछन्।

उनान्सय वटा त्यस्ता घटनामा मात्रै प्रहरीविरुद्ध मुद्दा दायर गरिएका थिए जुन १.३ प्रतिशत हो। त्यसमध्ये २५ घटनामा मात्रै दोषी ठहर गरिएका थिए।वाशिङट्नस्थित काटो इन्स्टि्यूटका उपाध्यक्ष क्लार्क नेली भन्छन्, “अभियोजकहरूले फ्लोइडको घटनामा जस्तो प्रहरी अधिकारीहरूविुद्ध फौजदारी अभियोग दायर गर्नु एकदमै दुर्लभ कुरा हो।”

उनका अनुसार अभियोजकहरूले प्रहरीसँगै मिलेर काम गर्नुपर्ने हुन्छ र घटनाहरूको छानबिन र बयानका लागि उनीहरूमा निर्भर हुनुपर्ने हुन्छ। र प्रहरीले फौजदारी कसुर नै नगरी घातक प्रकृतिका बल प्रयोग गर्न मिल्ने व्यवस्था छ।

पीडित र उनीहरूका आफन्तहरूले अदालतमा आफूलाई क्षति पुगेको भन्दै प्रहरी अधिकृतविरुद्ध अभियोग दायर गर्ने विकल्प छ तर नेलीका अनुसार ‘उन्मुक्तिका लागि योग्य’ भन्ने एउटा सिद्धान्तका कारण अधिकांश अवस्थामा अदालतको ढोका बन्द गरिन्छन्।

त्यसले सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई कसैको अधिकार खोस्दा सुरक्षा पीडितको रक्षा गर्नुपर्ने ‘स्पष्ट रूपमा स्थापित अधिकार’ बाहेकको अवस्थामा उन्मुक्ति दिने व्यवस्था गरेको छ। तर कानुनी नजिरहरूका कारण सार्वजनिक पद धारण गरेकाहरूलाई क्षतिका लागि उत्तरदायी बनाउन लगभग असम्भव रहेको छ।

यस्ता छन् दृष्टान्त
सन् २०१४ मा आफ्नो घरपछाडिको परिसरमा एक जना पुरुष अवैध रूपमा प्रवेश गरेपछि एमी कोर्बिटले प्रहरीलाई खबर गरिन्।त्यसपछि त्यहाँ आएका सशस्त्र प्रहरीले खेलिरहेका छ बालबलिकालाई भुइँमा सुत्न भने। जब एमीको कुकुर ब्रुस त्यहाँ देखा पर्‍यो, एक जना अधिकृतले चेतावनी नदिइ दुई पटक गोली चलाए।

अदालतको दस्तावेजका अनुसार अधिकृतहरूलाई कुनै जोखिम नै नभई गोली चलाइएको उल्लेख गरिएको छ।
प्रहरीको गोली कुकुरलाई लाग्नुको साटो त्यहाँबाट आधा मिटरपर भुइँमा सुतिरहेका एमीका १० वर्षका छोरा डकोटालाई लाग्यो। उनी बाँचे तर खुट्टामा गहिरो चोट लाग्यो र त्यसले मनोवैज्ञानिक पीडा पनि दियो।

प्रहरी अधिकृतलाई उत्तरदायी बनाउने एमीको प्रयासलाई खारेज गर्ने क्रममा अदालतले ‘गिरफ्तार गर्ने क्रममा दुर्घटनावश बलको प्रयोग हुन नसक्ने स्पष्ट अधिकार नरहेको’ उल्लेख गरेको थियो।

यस सन्दर्भमा मलाइका ब्रुक्ससँग जोडिएको अर्को एउटा घटना पनि बहुचर्चित बनेको थियो।उनलाई प्रहरीले तीन पटक करेन्ट लगाउने विद्युतीय टेसर गनबाट प्रहार गर्दै कारबाट घिसारेर बाहिर निकालेका थिए, भुँइतर्फ फर्किन लगाएर आफ्ना ११ वर्षे छोराका अघि हतकडी लगाइदिएका थिए।

द्रुत गतिमा कार चलाएको तर टिकट लिन अस्वीकार गरेकोमा कारबाही भोग्दा ब्रुक्स आठ महिनाकी गर्भवती थिइन्।उनको मुद्दालाई कसरी टेसर गन प्रयोग गर्ने भन्ने स्पष्ट स्थापित अधिकार नभएको भन्दै खारेज गरिएको थियो। घटना भएको १० वर्षपछि अदालतबाहिर ४५ हजार डलरमा उनले मिलापत्र गरेकी थिइन्।

सुधारको माग
नेलीका अनुसार प्रहरीहरू उन्मुक्तिका लागि योग्य ठहरिने भएकाले फ्लोइडको परिवारलाई पनि न्याय पाउन गाह्रो हुन सक्छ।बीबीसीले अमेरिकाको न्याश्नल पुलिस अफिसर्स असोसीएशनई प्रतिक्रिया दिन बारम्बार अनुरोध गरेको थियो।

उक्त संस्थाका अध्यक्षले यसअघि जोर्ज फ्लोइडको हत्यालाई कानुनी, आत्मरक्षा वा नैतिक कारण दिएर बचाउ गर्न नसकिने बताएका थिए।यस्तै धारणा राजनीतिज्ञहरूले पनि राखिरहेका छन् र प्रहरीद्वारा भएका हत्याको गहन छानबिनका लागि कानुनी सुधारहरूका प्रस्तावहरू पनि आएका छन्।

विज्ञहरूले र सञ्चारमाध्यमहरूले उन्मुक्तिका लागि योग्य भनिने अवधारणाको आफ्नो बुझाइमा नै अमेरिकी सर्वोच्च अदालतले पुनर्विचार गर्न सक्ने बताइरहेका छन्।अभियानकर्ताहरूले अमेरिकी संसद्ले प्रहरीले जो सुकैमाथि बल प्रयोग गर्दा पनि सावधानी अपनाउनुपर्ने माग सहितको कानुन पारित गर्नुपर्ने माग गरिरहेका छन्।

पीस एक्ट भनिने उक्त विधेयकले प्रहरीले अत्यावश्यक र अन्तिम विकल्पका रूपमा मात्रै त्यस्तो घातक किसिमका बल प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ।अमेरिकामा प्रहरी सङ्गठन निक्कै विकेन्द्रीकृत रहेको बताइन्छ।

प्रत्येक तीन सेकन्डमा अमेरिकामा कुनै व्यक्ति गिरफ्तारमा पर्ने र सन् २०१८ मा एक करोडभन्दा बढी मानिसहरू गिरफ्तार गरिएका अमेरिकी अनुसन्धान निकाय एफबीआईको एउटा तथ्याङ्कमा उल्लेख छ। बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here