डा. लक्ष्मण सिंह। नयाँ दिल्लीः चीनमा कोरोनाभाइरस फैलिएपछि ९ फेब्रुअरीमा भारतीय प्रधानमंत्री नरेंद्र मोदीले चीनियाँ राष्ट्रपति शी जिनपिंगलाइ एकपत्र लेख्दै यो रोग विरुद्ध लड्नका लागि चीनलाई हरसंभव मद्धत गर्ने बताए। त्यसपछि चीनियाँ विदेश मन्त्रालयले एक आधिकारिक विज्ञप्ति जारी गर्दै भारतको सो प्रस्तावप्रति आभार व्यक्त गर्दै धन्यवाद दियो। केही चीनियाँले भारतको यस्तो प्रस्तावले डाक्टर कोटनिसको याद दिलाएको बताए।
को थिए डाक्टर कोटनिस ? जसलाई यो समयमा याद गरिँदैछ। यही बताउनु यो लेखको उद्धेश्य हो। भारत र चीनको लगभग ४ हजार किलोमीटरको सीमाना जोडिएको छ। तथापी जब भारतीय र चीनियाँ जनता बीच प्रत्यक्ष सम्वाद या सम्पर्क कमै हुने गरेकोछ। प्राचीनकालमा बौद्ध मतको प्रचारको उद्धेश्यले चीन जाने प्रचारक र भारत आएर धर्म ज्ञान लिने केही चीनियाँ बौद्ध भिक्षुहरुको केही आख्यान प्रसिद्ध छन् र दुई देश बीच मैत्रीपूर्ण सम्बन्ध ऐतिहासिक रहेको प्रमाण दिने महत्वपूर्ण केही स्रोत पनि हुन्। यसको अलावा पर्वतीय क्षेत्रको केही भारतीय व्यापारी चीनियाँबाट सामान खरिद बिक्री गर्दथे।
पछिल्लो शताब्दीमा एक यस्तो भारतीय थिए, जसले यो हज्जारौं सालमा पुरानो चीन-भारत सम्बन्धमा एक नयाँ आयाम दिएका थिए। उनी थिए, महाराष्ट्रको शोलापुरमा जन्मिएका डा. द्वारकानाथ कोटनिस। डा. कोटनिसले मेडिकलको शिक्षा मुम्बइ विश्वविद्यालयबाट लिएका थिए। सन् १९३८ मा चीनमाथि जापानी हमला भएपछि चीनको कम्युनिस्ट पार्टीले जवाहरलाल नेहरुसँग केही डाक्टर चीन पठाउन अनुरोध गरेको थियो। सो अनुरोधलाई स्वीकार गर्दै भारतीय राष्ट्रीय कांग्रेसका तत्कालीन अध्यक्ष नेताजी सुभाष चन्द्र बोसले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय जनतासँग चीनको सहायता गर्नको लागि अपील गरे।
आज जब भारतमा कोरोनाभाइरसले दुइजनाको मृत्यु भयो साथै दुनियाभरि यो भाइरस फैलिरहेको छ, यस्तोमा चीनले एक भारतीय डाक्टर कोटनिसको याद गरिरहेको छ जसले लगभग आठ दशक पहिले चीनमा पीडित सैनिकहरुको सेवा गर्दै जीवन समर्पण गरेका थिए।
सुभाष चन्द्र बोसले स्वयंसेवक डाक्टरहरुको एक टिम तयार गरेर २२ हजार रुपैयाँको राशी सहित चीन पठाए। यो एक उपनिवेश रहेको देशले अर्को देशलाई उपनिवेशबाट बचाउन गरिएको सहयोग थियो। डाक्टरहरुको उक्त टिममा इलाहाबादका डा. एम. अटल, नागपुरका एम. चोलकर, शोलापुरबाट डा. कोटनिस र बी. के. बासु अनि कलकत्ताबाट देबेश मुखर्जी थिए। यो टिमबाट गएका सबै डाक्टरहरु फर्किए तर डाक्टर कोटनिस भने फर्किएनन्।
सन् १९३९ मा यो टिम युनान पुगेको थियो, जहाँ त्यस समयको आधार शिविर थियो। त्यहाँ त्यो समय उक्त मेडिकल टिमको स्वागत स्वयम् माओ त्से तुँगले गरेका थिए। यो कुनै एशियाली देशबाट चीन पुग्ने पहिलो टिम थियो। डा. कोटनिस पुरा ५ वर्ष चीनमा रहे। उनले युद्धको मोर्चामा घायल चीनियाँ सैनिकहरुको सेवा गरे। सन् १९४० मा डा. कोटनिसको भेटघाट क्वो छींगलान नामकी एक चीनियाँ नर्ससँग भयो। त्यसबेलासम्म डा. कोटनिसले चीनियाँ भाषा सिकिसकेका थिए। डिसेम्बर १९४१ मा डा. कोटनिसले क्वो छींगलानसँग विवाह गरे। विवाहको एकवर्षपछि उनीहरुको एक छोराको जन्म भयो, जसको नाम उनीहरुले इनहुआ राखे, चीनियाँ भाषामा यसको अर्थ हुन्छ – भारत र चीन।
डा. कोटनिस दिन-रात युद्धमोर्चामा सैनिकहरुको सेवा – सुश्रुषामा खटिरहे। यतिधेरै मेहनतका कारण बिस्तारै उनको स्वास्थ्य बिग्रिन थाल्यो। उनलाई छारेरोग लाग्यो र यहीँ रोगको कारण एकदिन उनको मृत्यु भयो। ९ डिसेम्बर १९४२ को दिन उनले आफ्नो पत्नी र छोरालाई सधैंका लागि छोडेर बिदा भए। डा. कोटनिसलाई ननकुआन गाउँमा नायकहरुको चिहानमा राखियो। उनको मृत्युमा माओ त्से तुंग भने कि ‘हाम्रो सेनाले एक सच्चा सहयोगीलाई गुमाएको छ, चीनले एक साथीलाई गुमाएको छ। उनको अन्तर्राष्ट्रिय भावना सधैं हाम्रो दिलमा जिउँदो रहनेछ।’
चीनमा हेपेयी राज्यको शहीद स्मृति स्थलमा एक स्थान डा. कोटनिसलाई समर्पित गरिएको ५ र त्यहाँ उनले प्रयोग गरेका मेडिकल उपकरण र त्यस समयको चिनीयाँ नेताहरुको साथ फोटो प्रदर्शनीमा राखिएको छ। एक फोटोमा उनी माओ त्से तुंगसँग देखिएका छन्।
१ जनवरी २०१२ मा डा. कोटनिसको स्मृतिमा उनको गृह नगर शोलापुरमा तत्कालीन कैबिनेट मन्त्री, सुशील कुमार शिन्देले एक स्मारकको उद्घाटन गरेका थिए। डा. कोटनिसको मृत्यु पश्चात उनकी पत्नी क्वो ले एक चीनियाँ पुरुषसँग विवाह गरिन्। तर पनि धेरै अवसरहरुमा उनलाई चीन सरकारबाट बोलावट हुन्थ्यो। उनको पत्नी क्वोले प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग २००३ मा भएको भ्रमणमा भेट गरेकी थिइन्। चीनका राष्ट्रपति हु जिन्ताओको २००६मा भएको भारत भ्रमणमा उनी पनि सँगै आएकी थिइन्। २०१२ मा ९६ वर्षको उमेरमा उनको चीनमा देहान्त भयो।
महान फिल्मकार वी शांतारामले १९४६मा उनको जीवनमा एक फिल्म बनाएका थिए, जसको नाम थियो ‘डॉक्टर कोटनिस की अमर कहानी’। यो फिल्मको पटकथा ख्वाजा अहमद अब्बासले लेखेका थिए भने डा. कोटनिसको रोल वी शांतारामले आफैंले गरेका थिए। १९९२ मा चीनमा पनि उनीमाथि एक फिचर फिल्म बनाइएको थियो। जुन जुन बेला चीनका राष्ट्रपति या प्रधानमन्त्री भारत आए, त्ययसबेला उनीहरुले डाक्टर कोटनिसका परिवारजनको सम्मान गरे। धेरै चीनियाँ राष्ट्राध्यक्ष डाक्टर कोटनिसको बहिनीसँग भेट गरेका थिए। भारत यात्राको दौरानमा २०१४ मा चीनियाँ राष्ट्रपति शी जिनपिंगले पनि उनकी बहिनीलाई भेटघाट गरेका थिए।
२०१७ मा चीन सरकारले डा. कोटनिसले मेडिकल अध्ययन गरेको मुम्बई विश्वविद्यालयलाई माओले लेखेका डा. कोटनिसको बारेमा हस्तलिखित सन्देश दिएका थिए। केही वर्ष पहिले चीन सरकारले चीनको सर्वोत्तम ७ विदेशी सहयोगीको सूचीमा डा. कोटनिसको पनि नाम राखेको छ।
यहीँ कारणले आज चीनमा स्वास्थ्य संकट देखिएकोबेला, चीनले डा. कोटनिसलाई पुनः स्मरण गरेको छ।
(लेखक समाज तथा कला विषयको जानकार हुन्)।