पश्चिमी मुलुकका हामीहरु मानव स्वतन्त्रता र विज्ञान तथा प्रविधि दुवैको विकासलाई पूँजीवादको स्वाभाविक उपलव्धी हो भन्नेगरी प्रशिक्षित भएका छौं। हामीहरुले पश्चिमी दुनियाबाहिर विकास नहुनुमा ती देशमा हुने भ्रष्टाचार,अन्य मुलुकहरुको लघुचाभास, वा पश्चिमी शासनप्रणाली नअप्नाएका कारणहरु हुन् भन्ने एकाङ्गी धारणा बनाएका छौं।
फलस्वरूप, हामी एकाधिकार र अत्यधिक पूँजीलाई नियन्त्रण गरी– त्यसमा पनि पश्चिमा, व्यक्तिहरूबाट– गरिएको विकास सबैको लागि उपयोगी हुन्छ भन्ने विश्वासलाई अघि बढाउने गर्छौं। यद्यपि, ईतिहासले यस्तो भएको देखाउँदैन। औद्योगिक क्रान्तिको अवधीमा,बेलायती साम्राज्यको केन्द्रको गरीबी भयावह थियो। उदाहरणका लागि, इङ्गल्याण्डका कलकारखाना बाल मजदुरहरूले खचिखचाउ थिए र अनगिन्ति अव्यवस्थित झुग्गीझुपडी विस्तार भए।
पश्चिममा, प्रारम्भिक चरणको “प्रगतिशील” पुँजीवादकालमा पूँजीपतिहरू बीचको प्रतिस्पर्धाको कारण मुनाफालाई अनुसन्धान र विकासमा लगानी गरियो, तर यस्तो लगानी समाजलाई समग्र लाभान्वित गर्ने उद्देश्यका लागि थिएन। यसको स्पष्ट कारण उदारवादी संभ्रान्तहरु आधारभूत सामाजिक अधिकारका लागि भइरहने व्यापक र संगठित मजदुर आन्दोलनको दवावमा परेर नै हो। विडम्बना, यसको श्रेय आज पश्चिमी उदार सम्भ्रान्तहरु आफैंले लिन्छन्।
बजारमा व्यवसायको दक्षताको कारण उदाएका एकाधिकारीहरूले प्रविधिहरुलाई उन्नत गरे। तर समयक्रममा ती उन्नत प्रविधिहरु नै थप प्रविधिगत उन्नति र सामाजिक प्रगतिमा बाधक बने। उदाहरणको लागि, २० औं शताब्दीमा, जनरल मोटर्सले संयुक्त राज्य अमेरिकामा सार्वजनिक यातायात प्रणालीहरू ल्यायो तर पछि यसैले ध्वस्त पार्यो। आज, हामीले Huawei 5G र TikTok प्रति गरिएका वाधा जस्ता कार्यहरुले अनुसन्धान र विकासमा विदेशी प्रतिस्पर्धालाई प्रतिबन्ध लगाउँदा एकाधिकारीको शक्ति संरक्षण त गर्दछ तर प्रविधिगत उन्नति र सामाजिक प्रगतिमा बाधा पुर्याउँछ।
पश्चिमी पुँजीवादको बृद्धि केवल पश्चिमी मुलुकहरुको परिश्रमबाट मात्र भएको होइन। यसमा विश्वले व्यापक मूल्य चुकाउनु परेको छ। शुरुवाती औद्योगिक क्रान्तिलाई हाक्ने निजीक्षेत्रको अनुसन्धान तथा विकासको खर्चलाई साम्राज्यवादले भरथेग गरेको थियो र औपनिवेशवादले विदेशी प्रतिस्पर्धा र विकासमा रोक लगाउँथ्यो।
विश्व आज पनि असमान विकासको अवस्थामा छ। यस्तो विश्वव्यापी असमानता निम्त्याउनमा कुनैपनि मुलुकको आन्तरिक दुर्वलता भन्दा आर्थिक प्रतिबन्ध र सैन्य हस्तक्षेप जस्ता पश्चिमी हस्तक्षेपहरु जिम्मेवार छन्। कैयन मुलुकहरु पश्चिमाहरुको प्रविधि र आर्थिक प्रभावबाट बाहिर रहेर मित्रवत प्रतिष्पर्धीहरु हुन खोज्छन् तर यस प्रयाशलाई पश्चिमाहरुले बाधा खडा गर्छन्।
प्रविधिमा प्रगति भएपनि पश्चिमी पुँजीवादले आफ्नै मुलुकका नागरिकहरु र अन्य मुलुकको उदयलाईसमेत नियन्त्रण गर्न खोजेको छ। यस कुरालाई शी जिनपिंगले वर्ल्ड इकॉनोमिक फोरम (डब्ल्यूईएफ) द्वारा आयोजित भर्चुअल दावोस एजेन्डा कार्यक्रमको मन्तव्यमा व्यक्त गरेका छन्। त्यसमा उनले भनेका छन्, “वैज्ञानिक र प्रविधिगत प्रगतिलाई अरु देशहरुको विकास हुन नदिन र जहींको तहीं रोक्न भन्दा सवै मानवको लाभका लागि प्रयोग गर्नु पर्छ”।
यस आधुनिक युगमा, विज्ञान र प्रविधि विकास अब केवल निजी व्यवसायबाट हुने गर्दैन। वास्तवमा यसको एकाधिकारवादी प्रवृत्तिको कारण वा तत्काल नाफा नहुने कारणले विकासलाई बाधा पुर्याएको हामीले देखेका नै छौं। यसो हुनाले, प्रायशः राज्यले नै नयाँ प्रविधिको विकासलाई अगाडि बढाउने गर्दछ। यसैसँग प्रश्न उठ्छ– राज्यले कसलाई सेवा गर्दछ र यसले के प्राप्त गर्न चाहेको छ?
दोस्रो विश्वयुद्ध देखि, राज्यले एटम बम र अपोलो कार्यक्रम जस्ता प्रविधिहरुको अनुसन्धान र विकासमा नेतृत्व लिएको पाइन्छ। नोम चम्स्कीले गरेको विस्तृत लेखाजोखा अनुसार यसको अनुसन्धान तथा विकासका लागि राज्यले लगानी गरेको थियो र त्यसपछि नाफा कमाउने गरी निजी व्यवसायलाई हस्तान्तरण गरियो। यदि राज्यले अनुसन्धान तथा विकासलाई अगाडि बढाउँछ भने उत्पादनको एकमात्र चालक शक्ति पूँजीवाद हो भन्ने मिथक धारणा स्पष्टरुपमा गलत सावित हुन्छ।
अनुसन्धान तथा विकासका साथै यसले उत्पादन गर्ने विज्ञान र प्रविधिलाई सिङ्गो मानवताको हितमा प्रयोग गरिनुपर्छ न कि केवल पुँजीवादी सम्भ्रान्तका लागि। ती सम्भ्रान्तहरुले यी कुराहरुलाई सबैको सामाजिक आवस्यकताको विषय बनाउनुको साटो आफ्ना आवश्यकताहरु पूर्तिका लागि राज्यलाई नियन्त्रणमा राख्न हरदम प्रयत्न गरिरहेका हुन्छन्। त्यसमाथि विज्ञान र प्रविधिले दिशा निर्दिष्ट गरेको विकासलाई केही सिमित मानिसहरुको लागि भनेर तोकिनु हुँदैन।
सीले प्रस्ताव गर्छन् कि विश्वले “समष्टि आर्थिक नीतिको समन्वय गर्नु र विश्व अर्थतन्त्रको सशक्त, दिगो, सन्तुलित र समावेशी वृद्धिलाई संयुक्त रुपमा प्रवर्द्धन गर्नु” आवश्यक छ। समावेशी आर्थिक बृद्धि दक्षिणी गोलार्द्धका मुलुकहरुमाथि रहेको पश्चिमका प्रमुख मुलुकहरुको आर्थिक र टेक्नोलोजिकल प्रभुत्वलाई तोड्नेतर्फ उन्मूख हुनु पर्छ। वास्तवमा, सीले स्पष्ट रूपमा भनेका छन्– हामीलाई “विकसित र विकासशील देशहरू बीचको विभाजन समाप्त गर्न र संयुक्तरूपमा सबैका लागि विकास र समृद्धि ल्याउन” आवश्यक छ।
सन्तुलित विश्वव्यापी विकास हासिल हुने भन्दै अरु मुलुकमा आफ्नो “उच्च” शासन–प्रणाली थोपर्न गरिने पश्चिमी हस्तक्षेप अब क्षमायोग्य हुन सक्दैन। सी विश्वस्त छन् कि हामीले “वैचारिक पूर्वाग्रह त्याग्न र संयुक्तरूपमा शान्तिपूर्ण सहअस्तित्व, आपसी फाइदा, र सबैपक्ष विजयी हुने सरसहयोगको मार्ग अनुसरण गर्नु आवश्यक छ”। सीको यस्तो विश्वासमा कुनै कलुषित भावना राख्नु हुँदैन।
जीको भाषण पश्चिमा–विरोधी होइन; यो मानवता पक्षीय छ। पश्चिमा पनि मानवताका पक्षधर नै छन्। कोभिड–१९ ले स्पष्ट पारे जस्तै विश्वलाई विकासको नयाँ ढाँचाको आवश्यकता छ। जुन ढाँचाबाट कुनै मुलुकमा गरिने विकासमा अरुले मूल्य चुकाउनु पर्दैन। विश्वमा जहाँ पश्चिमको बृद्धि मन्द हुँदैछ र विश्व पश्चिमी सम्भ्रान्त वर्गको हस्तक्षेपबाट आजित भएको छ। यस्तो अवस्थामा पश्चिमले सम्मानपूर्वक अन्य राजनीतिक– आर्थिक प्रणालीहरुमा क्रियाशील हुने प्रयाश गर्नु पर्छ,किनकि विकासको लागि काम गर्नु भनेको हामी सबैलाई फाइदा पुर्याउनु पनि हो।
(भावानुवादः २६ जनवरी २०२१ को सिजिटिएनबाट)
अक्सफोर्ड विश्वविद्यालयमा शिक्षित टिप्पणीकार किथ ल्याम्ब चीनको अन्तर्राष्ट्रिय सम्बन्ध र “चिनियाँ विशेषतासहितको समाजवाद” सम्बन्धी अनुसन्धानमा संलग्न हुन रुची राख्छन्।