सत्रौं सताव्दितिरबाट दुनियाँमा विस्तारै यस्तो वर्ग देखापर्न थाल्यो, जो उत्पादनको हिस्सा थिएन, केवल उपभोगको हिस्सा थियो। जसलाई उपभोक्ता भनियो। वर्गका हिसाबले उत्पादनमा दुई वर्गको उपस्थितिलाई स्विकार गरिन्छ, पूँजीपति वर्ग र श्रमिक वर्ग। अर्थात पूँजी लगानी गर्नेवाला र श्रम लगानी गर्नेवाला। तर यो उपभोक्ता वर्ग न उत्पादनमा पूँजी लगानी गर्छ न श्रम लगानी गर्छ। उत्पादित वस्तु र सेवाहरूको उपभोग मात्र हो यसको काम। यस वर्गले आवश्यकताका कारण उपभोग गर्दैन बरु उपभोगका लागि आवस्यकता पैदा गरिदिन्छ। यस्तो आवश्यकता जसले उत्पादक वर्गलाई अझ वढी वस्तु र सेवाको उत्पादनका लागि वाध्य पारिदिन्छ। प्रतिस्पर्धात्मक पूँजीवादको कालमा यो यति धेरै बढ्छ कि उत्पादकहरू गलाघोट–प्रतिस्पर्धामा उत्रन्छन्।
अत्यधिक उत्पादनले उत्पादकहरूमा उत्पादनको नसा चढाइदिन्छ र अति उत्पादनको बिक्रिका नयाँ–नयाँ उपभोक्ता तयार पार्नु उसको अत्यावश्यक वाध्यता बन्नजान्छ। त्यसले उनिहरूलाई नयाँ–नयाँ वजार विस्तारको आवस्यकता पर्छ। उत्पादनको दुनियाँमा एउटा नयाँ विषयक्षेत्रको प्रवेश हुन्छ–विज्ञापन, जसले वस्तुको वास्तविक फिचरभन्दा इमेजनरी फिचर (काल्पनिक गुण)लाई नै वढाइचढाइ गर्दछ। अर्को नयाँ विषयक्षेत्र पनि देखापर्छ। त्यो हो, अत्यावस्यक वस्तु तथा सेवाको उत्पादनमा कटौती र अर्थहीन वस्तु तथा सेवाहरूको उत्पादनमा अत्यधिक वृद्धि। फेन्सि सामान भन्नुस् वा लग्जरी, डेकोरेटिभ वा स्टाटस मेकर।
अब उत्पादकसँग अतिउत्पादित वस्तु त हुन्छ नै, अझ अतिउत्पादक इच्छा र अतिउत्पादक तथा विशिष्टिकृत श्रमशीप पनि हुन्छ। जसको कारण वजारको विस्तार अपरिहार्य हुनजान्छ र वजारको विस्तार एवं विस्तारित बजारको सुरक्षाका लागि नयाँ–नयाँ युद्धहरू जन्मन्छन्। युद्धले उनीहरूलाई नयाँ उत्पादनको खपतको नयाँ मार्ग देखाउँछ, भनौं नयाँ उपभोक्ता देखाउँछ। नयाँ उपभोक्ताले थप उत्पादनको आवश्यकतालाई वढाइदिन्छ। र, उनीहरू थप बजार र थप बजारका लागि थप युद्धको गोलचक्करमा फस्छन्। उपभोक्तावादबारे अहिलेलाई यत्ति। धेरै जान्नलाई त भेन्स प्याकर्डको ‘दि वेष्ट मेकर’ पढे भैगो।
=========
अब कुरा एमाले महाधिवेशनबारे। यसपटकको महाधिवेशन आगामी लामो समय सम्मका लागि नेतृत्वको एउटा नयाँ पंक्ति तयार पार्ने नै हो। यस्तो पंक्ति जसले पार्टीमा देखिएको नयाँ वर्गको आवश्यकतालाई सम्बोधन गर्न सकोस्। आधा साथीहरूले छोडेर गैसकेपछि खालि रहेको ठाउँमा आफुलाई फिट देख्नेहरूको पनि ठुलै पंक्ति तयार भइसकेको छ, जो ‘उभन्दा उ राम्रो’को तछाडमछाडमा सिंगारिएर महाधिवेशन पुग्दैछन् र आफुलाई त्यहाँ सो–अफ गर्नेछन्। क्रेताका रूपमा जम्मा हुने कार्यकर्ताहरूको ठुलो हिस्सा माथि उल्लेख भएको उपभोक्ता जस्तै छन्, जसको पार्टी निर्माणमा उत्पादक हिस्सेदारी छैन, बरु उपभोग हिस्सेदारी छ। त्यहि नयाँ वर्ग (उपभोक्तावर्ग) ले पार्टीलाई नयाँ –नयाँ आवशयकता पैदा गरिदिएका छन् र ती आवश्यकताहरू पुरा गर्नु पार्टीको मुख्य दायित्व बनेको छ।
पार्टी निर्माणमा खासगरी दुईवटा पंक्ति लागेको हुन्छ, नेता र कार्यकर्ता। तर समयक्रममा पार्टीमा यस्तो पंक्ति तयार भयो जो न नेता हो न कार्यकर्ता, उ उपभोक्ता हो। देशैभरी यस्तो पंक्तिले नै पार्टीलाई ड्राइभ गरिरहेको छ जो पार्टी निर्माणको हिस्सा थिएन, केवल उपभोगको हिस्सा थियो। यो उपभोक्ता वर्गले न उत्पादन (पार्टी निर्माण) मा पूँजी (विचार, नीतिनिर्माण नेतृत्व आदि) लगानी गरेको छ न श्रम (संगठन, संघर्ष कार्यक्रमको कार्यान्वयन आदि) लगानी गरेकोछ। यसको काम उत्पादित वस्तु र सेवाहरू (पार्टीका उपलव्धिहरू)को उपभोग मात्र हो। यो वर्ग आफ्नो वर्गीय आवश्यकताका कारण पार्टीमा लागेको होइन। बरु आफ्नो हितमा आवश्यकता पैदा गर्न पार्टीको हिस्सा बनेको हो। यस्तो आवश्यकता, जसले पार्टीका नेताकार्यकर्ता (उत्पादक शक्ति)लाई अझ वढी वस्तु र सेवाको उत्पादनका लागि वाध्य पारिरहेको हुन्छ।
गरीब, दलित, महिला, श्रमिकजस्ता शव्दहरूलाई पत्रु बनाउन खोजेको थियो पार्टी नेतृत्वले। उ त्यसमा सफल भएको छ। र, रेल, हवाइजहाज, सडक बिल्डिङ, धरहरा र रानीपोखरीहरू वहुदलीय जनवादका विशेषता वन्दै गएका छन्। नेता कार्यकर्ताहरू पनि आपसी गलाघोट प्रतिस्पर्धामा उत्रेकाछन्। असल वा खराब होइन, बिकाउ नीति र कार्यक्रमहरूका बाढी नै आएका छन्। ‘नेपालमा राम जन्मभूमी बनाउछुँ’ भन्ने पार्टी अध्यक्ष मात्र एमालेमा छैनन्, ‘चारधाम कै संग्रहालय वनाउछुँ’ भन्ने माधव कामरेडका अनुयायी पनि मस्तै छन्।
नेताकार्यकर्ताहरूमा ‘पार्टी काम’ गर्ने नशा चढाइदिएको छ। काम के नसोध्नुस्, ‘काम कतिको?’ प्रश्न प्रधान भएको छ। अब नेता कार्यकर्ताहरूलाई पनि अति उत्पादन (अनौठा नीति तथा कार्यक्रम) को बिक्रिका नयाँ–नयाँ उपभोक्ता तयार पार्नु वाध्यता बन्न गएको छ। त्यसले उनीहरूलाई नयाँ–नयाँ बजार विस्तारको आवश्यकता परेको छ। पार्टी कामको दुनियाँमा एउटा नयाँ विषयक्षेत्रको प्रवेश भएको छ ः विज्ञापन, जसले वस्तुको वास्तविक फिचरभन्दा इमेजनरी फिचरलाई नै वढाइँचढाइँ गर्दछ। एमाले नेतृत्व पंक्तिभित्र पनि विज्ञापनको प्रतिस्पर्धा चलेको छ उ भन्दा उ राम्रोको। अर्को नयाँ विषयक्षेत्र पनि देखापरेको छ, त्यो हो तात्विक नीति तथा कार्यक्रमको कटौती र अर्थहीन नीति तथा कार्यक्रमहरूमा अत्यधिक वृद्धि।
विकास र समृद्धिको ‘बोगस’ फेहरिस्त। अब पार्टीसँग यस्ता अतिउत्पादित बोगस नीति तथा कार्यक्रम त छ नै, अझ अतिउत्पादक इच्छा र अतिउत्पादक तथा विशिष्टिकृत श्रमसीप (कायर्ककर्ता) पनि छ। जसको कारण पार्टीको विस्तार अपरिहार्य हुनगएको छ र पार्टीको विस्तार एवं विस्तारित पार्टीको सुरक्षाका लागि पार्टीभित्रै र पार्टीवाहिर पनि नयाँ–नयाँ झगडाहरू जन्मेका छन्। नयाँ खाले सेना तयार भएका छन्। ती झगडाले उनिहरूलाई नयाँ नीति कार्यक्रमको खपतको नयाँ मार्ग देखाइ रहेका छन्, नयाँ–नयाँ उपभोक्ता पनि।
अब पार्टीमा एक महिना लगाएर एकजना कार्यकर्ता प्रवेश गराउने दिन गए। अब त एउटा गफ दिने, अलिकति आश्वासन दिने, कुनै योजना वा ठेक्का दिने वा अझ कनै पद, पैसा वा ‘प्रतिष्ठा’ दिने र मास पार्टी प्रवेस गराउने क्रम बढेको छ।अर्काे ठाउँमा पनि पार्टी सदस्य मात्रै होइन पदाधिकारी नै एकै पटक कयौ पार्टीको सदस्य मात्र होइन पदाधिकारी नै देखिन थालेका छन् ।
यसरी थपिएका नयाँ उपभोक्ताले थप उत्पादनको आवश्यकतालाई बढाइदिएका छन् र थप वढाउँदै लानेछन्। अनि नेता कार्यकर्ताहरू थप बजारको विस्तार र थप विस्तारित बजारका लागि थप झगडाको गोलचक्करमा फस्दैछन्, फस्दै जानेछन्। विस्तारै पुनः विभाजन, पुनः एकिकरणजस्ता नाटकको मञ्चन गर्दै माथिल्लो पंक्तिमा आफुलाई सार्दै लग्नेहरूले नेता कार्यकर्ताको ठाउँ लिदैछन र अन्तत ः एकदिन न पूँजी न श्रम लगानी गरेको पंक्तिले बनमारा झारजस्तै सम्पूर्ण रूपमा पार्टीलाई निल्नेछ। तर न पूँजी भएको न श्रमशीप भएको त्यो पंक्ति लामो समय अस्तित्वमा रहने कुरै आउदैन र अन्नत : पार्टी बिलयको दिशामा अघि बढ्ने छ। उपभोक्तालाई त के फरक पर्छ र यो दोकान बन्द भए अर्को दोकान, त्यो पनि बन्द भए अर्को दोकान छँदैछ।
महाधिवेशनमा जम्मा हुने गैरउपभोक्ता कार्यकर्ताहरूको सचेत प्रयत्नले केही फरक पार्न सक्छ की भन्ने झिनो आशालाई मर्न नदिने हो भने ‘चितवन कुम्भमेला’को विसर्जनसम्म पर्खनै पर्छ। यद्दपि कतिपय प्रेडिक्टेबल कुराहरूमा धेरै आशा गर्नु पिडादायी हुनसक्छ। ढुक्क हुने कुरा के हो भने यस पटकको महाधिवेशन केपी कामरेडलाई मुख्य नेतृत्व देखाउँदै आगामी लामो समय सम्मका लागि नेतृत्वको एउटा नयाँ पंक्ति तयार पार्ने नै हो, यस्तो पंक्ति जसले पार्टीमा देखिएको नयाँ वर्गको आवश्यकतालाई सम्बोधन गर्न सकोस्।
एमाले अधिवेशनबारे अहिलेलाई यत्ति।