अघिल्लो भागमा हामीले जेरूसलेम सहित सम्पूर्ण प्यालेस्टाइनमा कसरी इस्लामहरूको नियन्त्रण स्थापित भयो भन्ने बिस्तारमा चर्चा गरेका थियौं। यसपछि दुई लगभग तीन शताब्दी प्यालेस्टाइनमा धार्मिक सहिष्णुताको युगका रूपमा रह्यो। करेन आर्मस्ट्रङको किताब ‘जेरूसलेम: वन सिटी, थ्री फेथ’ को यो अनुच्छेद हेरौं:
इस्लामहरूले जेरूसलेममा यस्तो थीति बसाएका थिए जसले गर्दा पहिलोपटक यहाँ यहुदी, इशाई र इस्लामहरू एक साथ बसिरहेका थिए। यहुदीहरू बेबिलोन निर्वासनबाट फर्किएपछि एकेश्वरवादीहरूले जेरूसलेमको पवित्रता कायम राख्न बाहिरियाहरूलाई अलग राख्नु पर्ने अवधारणा बनाएका थिए। तर, इस्लामहरूले पवित्रताको अझ समावेशी अवधारणा निर्माण गरे। सबै आ-आफ्नो विशेष क्षेत्रमा बसोबास गर्न र आफ्ना पवित्र स्थलहरूमा प्रार्थना गर्ने गरी कायम भएको तीन अब्राहमिक धर्महरूको सहअस्तित्वले एकै ईश्वरबाट प्राप्त सबै धर्महरूको निरन्तरता र आपसी सद्भावको अवधारणालाई दर्शाउँथ्यो। एउटै पवित्र शहरमा एकसाथ बसोबास गर्दाको अनुभवले एकेश्वरवादीका तिनै धर्ममा आस्था राख्नेहरूलाई एकअर्कालाई अझ राम्रोसँग बुझ्ने वातावरण दिएको थियो।
नवौं शताब्दीमा इस्लामिक साम्राज्य विभाजन हुन थाल्यो भने आर्थिक रूपमा कमजोर पनि हुनथाल्यो। यही समयमा युरोपियन इशाईहरूले जेरूसलेममा ठूल्ठूला संरचनाहरू बनाउन थाले भने इशाई तीर्थयात्रीको संख्या पनि आश्चर्यजनक रूपमा बढिरहेको थियो। जेरूसलेममा इस्लामिक शासन नभएर इशाई शासन भएको झल्को आउन थालेको थियो। यसले गर्दा प्यालेस्टिनी इस्लामहरूमा चिन्ता र डर बढ्न थालेको थियो। कहिलेकाँही इशाई र इस्लामहरूबीचमा दंगा पनि हुने गरेको थियो। यतिबेला जेरूसलेममा यहुदीहरू अल्पसंख्यामा थिए। उनीहरूको संख्या निकै सानो थियो। तर, दशौं शताब्दीको सुरूवातमा पश्चिम एसियामा फैलिएका थुप्रै यहुदीहरू जेरूसलेम बसाईं सरे। उनीहरू ‘टेम्पल माउन्ट’ पुननिर्माणका लागि ईश्वरले मसिहा पठाउने सपना देखिरहेका थिए। यसले पनि जेरूसलेममा तनाव थपेको थियो।
एकातिर जेरूसलेमको धार्मिक सहिष्णुता कमजोर भइरहेको थियो र तनाव बढिरहको थियो। अर्कातिर प्यालेस्टाइन रणमैदानमा बदलिइरहेको थियो। सन् ९३५मा इजिप्टमा मुहम्मद इब्न तुघले शासनमा हातमा लिए र इजिप्टसहित प्यालेस्टाइन र सिरियाको पनि शासन हातमा लिए। उनी बगदादका खलिफाका नाममा शासन गर्थे तर शासनमा पूर्ण स्वतन्त्रता अभ्यास गरिरहेका थिए। बग्दादमा केन्द्र रहेको खलिफा निकै कमजोर भइसकेको थियो। यसबेला खिलाफत विभाजन भएर अरु विभिन्न स्थानमा नयाँ नयाँ राजतन्त्र उदाइरहेका थिए। प्यालेस्टाइन नियन्त्रणमा लिन उनीहरू एक-आपसमा लडिरहेका थिए। त्यसैले, प्यालेस्टाइन रणमैदानमा परिणत भएको थियो भने आर्थिक रूपमा पनि निकै कमजोर भइसकेको थियो। यही अस्थिरता र अव्यवस्थाको फाइदा उठाउँदै बैजन्टाइन साम्राज्यले इस्लामविरूद्ध युद्धको घोषणा गर्यो। बैजन्टाइन सम्राटले आफ्नो साम्राज्य बिस्तारको महत्वकांक्षालाई धार्मिक रङ दिए।
बैजन्टाइनले सिसिलिया, साइप्रस लगायतका स्थानमाथि जित हात पारेपछि जेरूसलेम आक्रमण गर्ने योजना बनाइरहेको थियो। बैजन्टाइनले सुरू गरेको धार्मिक युद्धले जेरूसलेम प्रभावित भइसकेको थियो। क्रिश्चियनहरूको मनोबल बढेको थियो र उनीहरू इस्लाम विरूद्ध आक्रमण गरिरहेका थिए भने इस्लामहरूले इशाईहरूका पवित्र स्थलहरूमा आगो लगाइरहका थिए।
सन् ९६६मा भएको दंगामा जेरूसलेमका क्रिश्चियन प्रमुख जोन मारिए। इस्लाम सम्राटले बैजन्टाइन सम्राटसँग जोनको हत्यालाई लिएर माफी मागे र चर्चहरू पुननिर्माण गरिदिने प्रस्ताव पठाए। तर, बैजन्टाइन सम्राटले तरबारको सहायताले आफैं चर्च पुननिर्माण गर्ने जवाफ फर्काए। तर, यो संकट धेरै लामो समय टिकेन। फतिमा वंशका शासकहरू पुन सत्तामा आएसँगै बैजन्टाइनले मित्रताको हात मिलायो। यसपछिको करिब डेढ सय वर्ष जेरूसलेमले शान्ति र उन्नतिको नयाँ मानक निर्माण गर्यो। जेरूसलेमको मुख्य शासक इस्लाम थिए, जो कायरोबाट शासन चलाउँथे। जेरूसलेममा इशाईहरूको बाहुल्य र बोलबाला थियो। यहाँका सबैभन्दा सम्पन्न र शिक्षित इशाईहरू नै थिए। यहुदीहरूको पनि अवस्था राम्रो थियो। आर्थिक र सामाजिक मानकमा बरू सबैभन्दा कमजोर मुस्लिम नै थिए। तर, पनि जेरूसलेमले अभूतपूर्व शान्ति र सुव्यवस्थाको अनुभव गरिरहेको थियो। सन् १०९७मा जेरूसलेम इजिप्टका सम्राट शाहंशाह अल-अफ्दलले आफ्नो नियन्त्रणमा लिएका थिए।
बैजन्टाइन सम्राट एलेक्सिय कोम्नेनसको महत्वकांक्षाले प्यालेस्टाइनको यो शान्तिलाई धेरै टिक्न दिने थिएन। उनको महत्वकांक्षा सिरिया र प्यालेस्टाइनमाथि पुन: नियन्त्रण जमाउनु थियो। तर, कमजोर भइसकेको बैजन्टाइन साम्राज्यसँग यहाँका इस्लाम साम्राज्यसँग लड्ने सामर्थ्य थिएन। त्यसैले, सन् १०९५ मा उनले भ्याटिकनमा रहेका क्याथोलिक पोप अर्वान द्वितियसँग युरोपको सहयोग माग्दै आफ्ना दूत पठाउँछन्।
यो पनि पढ्नुहोस्: तीन हजार वर्ष पहिलेको इजरायल-प्यालेस्टाइन
अर्वान द्वितियको आफ्नै महत्वकांक्षा थियो। कोम्नेनसको निम्तो उनका लागि ठूलो अवसर बन्यो। उनी इशाईहरूको पवित्र शहर जेरूसलेममाथि क्याथोलिक वर्चश्व र शासन चाहन्थे। उनले पहिले तुर्क मुस्लिम शासकका अधिनमा रहेका सिरियाली र प्यालेस्टिनी भूमि फिर्ता गर्न बैजन्टाइनलाई सहयोग गर्ने र त्यसपछि जेरूसलेम कब्जा गर्ने योजना अघि सार्छन्। यसका लागि उनले युरोपियन शासकहरूलाई एक ठाउँमा ल्याए। आपसमा लडिरहेका सर्वकालिन वैरी फ्रान्स र इंग्ल्याण्डलाई दुश्मनी थाती राख्न सहमत गराए। युरोपका साना-ठूला सहर र अधिराज्यका शासकहरू यो धर्म-युद्धमा सरिक हुन्छन्। किसानहरू कोदाली थन्क्याएर सेनामा आउँछन्, लडाकुहरू देशका नाममा लड्न छोडेर धर्मका नाममा लड्न तयार हुन्छन्। जब क्रुसेड आर्मीको पहिलो डफ्फा बैजन्टाइन राजधानी कन्स्टान्टिनोपल पुग्छ, बैजन्टाइन राजकुमारी भन्छिन्, ‘सिङ्गो युरोप उठेर एसिया आइरहेको छ।’
इतिहासमा कहिल्यै नभएको त्रासदी पश्चिम एसियाले देखिरहेको थियो। एउटा कल्पनाभन्दा माथिको नरसंहारको प्रतिक्षामा सिरिया र प्यालेस्टाइन बसिरहेको थियो। यसको केन्द्रमा थियो-जेरूसलेम अर्थात शान्तिको शहर।
क्रुसेड आर्मीको धार्मिक उन्माद कसैको नियन्त्रण भन्दा बाहिर थियो। युरोपबाट पाइला चाल्न थाल्ने बित्तिकै जर्मन क्रुसेडरहरूले राइन नदी आसपासका क्षेत्रमा हजारौंको संख्यामा यहुदीहरूको नरसंहार गर्छन्। यो क्रम रोकिँदैन, क्रसको चिन्ह बोकेर हिडेका इशाई फौजी डफ्फाले सयौं गाउँ र सहरमा यहुदी र इस्लाम धर्मावलम्बीहरूको नरसंहार गर्दै एसिया प्रवेश गर्छन्। तुर्क-सेल्जुक नियन्त्रित क्षेत्रहरूमा कब्जा जमाउँदै उनीहरू १०९७मा सिरियाको प्रसिद्ध सहर एन्टिओक पुग्छन्। कठिन लडाईंपछि एन्टिओक कब्जा गरेर जेरूसलेम पुग्दा सन् १०९९ भएको हुन्छ।
१५ जुलाई १०९९मा क्रुसेडर आर्मीको एउटा डफ्फाले जेरूसलेमको पर्खाल तोड्न सफल हुन्छ। यही ठाउँबाट क्रुसेडरहरू सहर भित्र छिर्छन् र लगातार तीन दिन योजनाबद्ध रूपमा इस्लाम र यहुदीहरूको हत्या गर्छन्। यहाँ तीन दिनमा ३० हजार जेरूसलेमबासीको हत्या गरिन्छ। युद्धको त्रासदी बयान गर्दै एक जना इशाई सैनिक लेख्छन्, ‘सहरका सडकमा रगतको खोलो बगिरहेको थियो। काटिएका टाउका, हातखुट्टा र शरीरका विभिन्न भागका थुप्रा बनेका थिए।’
जेरूसलेम क्रिश्चियनहरूले कब्जा त गरे तर त्यो जेरूसलेमको आत्मा थिएन। चार शताब्दी लामो इस्लामिक शासनमा जेरूसलेम वास्तविक ‘कस्मोपोलिटन सिटी’ बनेको थियो। यहाँ अर्मेनिक, सिरियाली, ग्रिक अर्थोडक्स र युरोपियन क्थोलिक विभिन्न इसाई समुदाय, शिया र सुन्नी मुसलमानहरू, सुफी मुस्लिमहरूको छुट्टै समूह र विभिन्न सम्प्रदायका यहुदीहरू बसोबास गर्ने एउटा रंगिन सहर थियो-जेरूसलेम। सहरको मात्रै जनसंख्या डेढ लाख भन्दा धेरै थियो भने बिसौं हजार यहुदी, इशाई र मुस्लिम तीर्थयात्रीहरूले सहर गुलजार बनाइरहेका हुन्थे। सहरभित्र जो भेटिए, उनीहरू मारिए। जो भाग्न सक्थे, उनीहरू सहर छोडेर भागे। अब यहाँ केही हजार क्रिश्चियन मात्रै बाँकी थिए। तर, युरोपियनहरूले यहाँ भएका स्थानीय इशाईहरूलाई पनि निकाला गरिदिए। उनीहरूले सिरियन-प्यालेस्टिन इशाईहरूलाई अरब भन्दा फरक देखेनन्। युरोपियनहरूको हातमा जे थियो- त्यो जीवन्त जेरूसलेम नभएर एउटा भुताहा सहर थियो। कोही पनि युरोपियन यहाँ बस्न इच्छुक भएनन्।
क्रुसेडपछि सिरिया र प्यालेस्टाइनका अधिकांश भूमि बैजन्टाइनको नियन्त्रणमा आयो। जेरूसलेम अलग्गै क्रिश्चियन राज्यका रूपमा रहयो। तर, क्रुसेड सकिएन। बैजन्टाइनसँग सीमाना जोडिएका क्षेत्रमा विभिन्न इस्लामिक राज्य र क्रुसेड आर्मीबीच लगातारजस्तै युद्ध भइरहेको हुन्थ्यो। अहिलेको इराकमा पर्ने मोसुलबाट सत्तामा उदाएका इमाद अल-दिन जेङ्गीले दमास्कस कब्जा गर्छन्। यसले सिरियाको ठूलो हिस्सामा उनको साम्राज्य स्थापित हुन्छ। दमास्कस कब्जा गर्ने प्रयत्न गरिरहेका जेरूसलेमका शासक बाल्दवीन द्वीतियलाई उनले दमास्कस बाहिर भएको युद्धमा पराजित गर्छन्। यसले उनको आत्मविश्वास बढ्छ। २४ डिसेम्बर ११४४मा इडिसा कब्जा गर्छन्। पहिलो क्रुसेड युद्धमा स्वतन्त्र काउन्टीका रूपमा स्थापित इडिसा गुमाएपछि फेरि एकपटक युरोपियन संयुक्त फौज सैन्य अभियानमा जुट्छ र दोस्रो क्रुसेड युद्ध सुरू हुन्छ।
यो अभियानमा युरोपेली पक्षले ठूलो क्षति र अपमानजनक पराजय व्यहोर्छ। यो युद्धको यकिन तथ्यांक कतैपनि छैन तर विभिन्न युरोपेली स्रोतहरूले ६०,००० युरोपेली सैनिक मारिएको अनुमान गरेका छन् भने पूर्वका मुस्लिम राज्य र युद्धरत क्षेत्रका सर्वसाधारण कति मारिए भन्ने कुनै रेकर्ड छैन। एन्टिओक लगातयका महत्वपूर्ण सहरमाथिको नियन्त्रण गुमाउनु परे पनि जेरूसलेम अझै क्रिश्चियन शासनमै थियो। जसले तेस्रो क्रुसेड युद्धको त्रासद समय पर्खिरहेको थियो।
११७४मा सलाह अल-दिन युसुफ इब्न अय्युब अर्थात सलादिन इजिप्ट र सिरियाका सुल्तानका रूपमा सत्तामा आउँछन्। उनले विभाजित र पराजित मानसिकतामा रहेका इस्लाम शासकहरूलाई एकताबद्ध गर्छन् र इस्लाम दुनियाँमा नयाँ आशाको बिजारोपण गर्छन्। उनले इजिप्ट, प्यालेस्टाइन, सिरिया र लेभान्तका अधिकांश भागहरूमा आफ्नो नियन्त्रण स्थापित गर्दै जेरूसलेमलाई घेराबन्दी गर्छन्। क्रुसेडर आर्मीलाई पराजित गरेपछि सन् ११८७मा सलादिनले ठूलो युद्ध बिना नै जेरूसलेम कब्जा गर्छन्। सन् १०९९मा युरोपेलीहरूले मच्चाएको आतंकको बदला लिने कसम खाएका सलादिन जेरूसलेम जितेपछि शान्त देखिन्छन्। इशाईहरूको त्रास विपरित सलादिनले कसैको हत्या गर्दैनन्। त्यहाँ कुनै नरसंहार र आतंक देखिँदैन।
जेरूसलेमका इशाई संरक्षक हेरक्लियस आफ्नो रथमा ठूलोमात्रामा धनराशी राखेर जेरूसलेम छोडिरहेका देखिन्छन्। एकजना मुस्लिम लेखक र सलादिनका सल्लाहकार इमाद अद-दिनले सलादिनलाई त्यो धन नियन्त्रणमा लिन आग्रह गर्छन्। सलादिन उनलाई जवाफ दिन्छन्, ‘संसारभरका इशाईहरूले हाम्रो यो दयालुपनलाई सम्झिरहनेछन्।’
सलादिनको अपेक्षा धेरै समय टिक्न सकेन। दुई वर्ष पछि नै इंग्ल्याण्डका राजा रिचर्ड र फ्रान्सका राजा फिलिप जस्ता महत्वकांक्षी व्यक्तिको नेतृत्वमा तेस्रो क्रुसेड युद्ध भयो। यो युद्धमा पनि उनीहरूले जेरूसलेम कब्जा गर्न सकेनन्। जेरूसलेमको नजिकै पुगिसकेको भए पनि आन्तरिक रूपमा विभाजित भए पछि उनीहरू जेरूसलेम कब्जा नगरी फर्किएका थिए। तर उनीहरूले प्यालेस्टाइनका टायर(वर्तमान लेबनान) र जाफा जस्ता महत्वपूर्ण सहर भने कब्जा गरेका थिए।
सन् १०९६ देखि १२९१सम्म करिब दुई सय वर्ष चलेको यो युद्धमा ‘पवित्र सहर पुग्ने २० मध्ये एक जना मात्रै बाँच्न सफल भएको इतिहासकारहरूले आँकलन गरेका छन्। यी युद्धमा १७ लाख मानिस मारिएको अनुमान छ। जब कि त्यसबेला सम्पूर्ण धर्तीको जनसंख्या तीस करोड जतिमात्रै थियो।’
सन् १०९६मा सुरू भएको क्रुसेड युद्ध करिब दुई सय वर्ष चल्यो र नौ वटा महत्वपूर्ण युद्ध (क्रुसेड) भए। १२९१मा इजिप्टका माम्लुकहरूले क्रुसेडरको अधिनमा रहेको एकर कब्जा गरेपछि क्रुसेडको अध्याय समाप्त हुन्छ। यो युद्धको परिणाम भयावह छ। वासिङटनपोस्टमा २०१५ फेब्रुअरीमा प्रकाशित एक लेखमा लेखक जे माइकलसन लेख्छन्, सन् १०९६ देखि १२९१सम्म करिब दुई सय वर्ष चलेको यो युद्धमा ‘ पवित्र सहर पुग्ने २० मध्ये एक जना मात्रै बाँच्न सफल भएको इतिहासकारहरूले आँकलन गरेका छन्। यी युद्धमा १७ लाख मानिस मारिएको अनुमान छ। जब कि त्यसबेला सम्पूर्ण धर्तीको जनसंख्या तीस करोड जतिमात्रै थियो।’ युद्धमा घाइते हुने, घरबार गुमाएर विस्थापित हुने, एउटा शासकबाट अर्को शासकको नियन्त्रणमा गाउँ वा शहर जाँदा घर छोडेर भाग्नुपर्नेहरूको त कुनै हिसाबकिताब नै छैन। युद्धमा लाग्ने खर्चका लागि युरोप र पश्चिम एसियाका किसान र व्यापारीमाथि थोपरिएको अतिरिक्त करको पनि हिसाब निकाल्न सम्भव छैन। क्रुसेड युद्धका दुई सय वर्षमा प्यालेस्टाइन र सिरियाले कहिल्यै पनि शान्ति देखेन। जेरूसलेममा हजारौं मानिसको पसिनाबाट बनेका सुन्दर चर्च, यहुदी मन्दीर र मस्जिदहरू खरानीम परिणत भए। ‘डोम अफ दि रक’ र अल अस्का मस्जिद बाहेकका सबै संरचना ध्वस्त भए। सयौं घर ध्वस्त पारिए। सहरको वरिपरि बनाइएका पर्खाल तोडिए। चार सय वर्षमा मुस्लिमहरूले जेरूसलेममा जुन सहिष्णुता र सहअस्तित्वको संस्कृति निर्माण गरेका थिए, क्रुसेडले यसलाई सधैंका लागि अन्त्य गरिदियो।
यो पनि पढ्नुहोस्: तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म (इजरायल-प्यालेस्टाइन युद्ध २)
तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म
यसैबेला प्यालेस्टाइनले अर्को युद्ध व्यहोर्नु पर्यो। वर्तमान मंगोलियाको भूमिबाट युद्ध सुरू गरेका मंगोल फौज पश्चिम एसियाका अरू भूमिहरूमा विनाश र नरसंहार मच्चाउँदै प्यालेस्टाइन पुग्यो। उनीहरूले केही समय अन्तिम क्रुसेडरलाई सहयोग पनि गरे। इजिप्टमा माम्लुक वंशको स्थापना सँगै माम्लुक सम्राट अल-जाहिर बेबर्सले उनीहरूलाई प्यालेस्टाइनबाट लखेटे। र, सिरिया र प्यालेस्टाइनमा आफ्नो नियन्त्रण कायम गरे।
क्रुसेड र मंगोलको चुनौतिलाई पन्छाएपछि प्यालेस्टाइनले अर्को दुई शताब्दी शान्ति र समृद्धिको समय अनुभुत गर्न पाउँछ। तर, पहिले इस्लाम शासनमा जुन बहुलता र सहिष्णुताको संस्कृति थियो-त्यो फर्केर आउँदैन। सन् १५१६सम्म मामलुकहरूले प्यालेस्टाइनमा शासन गर्छन्। १५१६मा अटोमनसँग मामलुक पराजित भएपछि यो क्षेत्र अटोमन साम्राजयको अधिनमा आउँछ।
टर्की केन्द्र भएर बिस्तार भएको अटोमन साम्राज्यको अधिनमा हुँदा प्यालेस्टाइनले समृद्धिको अर्को चरण देख्न पाउँछ। अटोमन कालमा प्यालेस्टाइनलाई जेरुसलेम,नब्लुस र गाजा गरी तीन जिल्लामा विभाजन गरिएको थियो। वैश्विक व्यापारको बढ्दो गतिले प्यालेस्टाइनको आर्थिक गतिविधि निकै माथि पुगेको थियो। यहाँ चीनको रेशम, दक्षिण भारत र दक्षिणपूर्वी एसियाका मसला, अरबका विभिन्न स्थानबाट कपडा र इजिप्टबाट खाद्यान्न आयात हुन्थ्यो। यसबेला बाहिरबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगहरू पनि फस्टाएका थिए। कपडा, साबुन, छालाका सामान र धातुका सामानको उत्पादनले यहाँको अर्थतन्त्रलाई बलियो बनाएका थिए।
क्रिश्चियन धर्मको उदयसँगै जेरूसलेम र प्यालेस्टाइनबाट यहुदीहरू क्रमश: विस्थापित हुँदै गएका थिए। इस्लाम शासनका सुरूवाती चार शताब्दीमा उनीहरूको संख्या बढेको थियो। क्रुसेडपछि भने यहाँ इशाई र यहुदी दुवैको संख्या अत्यन्तै कम थियो। १५५३मा गरिएको जनगणनामा जेरूसलेमको जनसंख्या १३३३८ थियो, जसमध्ये १६५० जना मात्रै यहुदी र क्रिश्चियन थिए। बाँकी सबै इस्लाम थिए। अर्थात, त्यसबेला जेरूसलेम पूर्णत: इस्लामिक सहर भइसकेको थियो।
यसपछि शान्तिको समयमा जेरूसलेममा थोरै भए पनि इशाईहरूको संख्या बढ्छ। यहाँका इशाई चर्चहरू, खासगरी ‘द होली स्पलचर’ माथि नियन्त्रण जमाउन फ्रेन्च, ग्रिक र रसियन अर्थोडक्स इशाईहरूबीच प्रतिस्पर्धा चलिरहन्छ। यदाकदा तीर्थयात्री लक्षित आक्रमण भए पनि ठूलो धार्मिक दंगा भएको देखिँदैन।
सन् १८००मा नेपोलियनले आक्रमण गर्नुभन्दा अघि प्यालेस्टाइनमा त्यस्तो ठूलो युद्ध देखिँदैन। नेपोलियन यहाँ पराजित भएर फर्किन्छन्। यसपछि १९ औं शताब्दीका सुरूवाती केही दशकमा जेरूसलेममा धार्मिक हिंसा भड्किन्छ। १८३१मा साम्राज्यविरूद्ध भएको विद्रोहमा सबै गैर-अरबवासीलाई सहरबाट निकाला गरिएको थियो। विद्रोहलाई सम्बोधन गर्न अटोमनले जेरूसलेममाथि लगाएको कर धेरै मात्रामा कटौति गर्ने सम्झौता गरेको थियो।
औपचारिक रूपमा १८७६मा अटोमनबाट स्वतन्त्र भए पनि १८३०को दशकबाटै इजिप्टले आफ्नो स्वतन्त्रता अभ्यास गर्न थालेको थियो। अटोमन साम्राज्यका इजिप्ट गर्भनर मुहम्मद अलिको महत्वकांक्षाका कारण इजिप्ट स्वतन्त्र भएको थियो। यतिबेला युरोपमा औद्योगिक क्रान्ति भएर आधुनिकताले छलाङ लगाइरहेको थियो। अलिले पनि इजिप्टको आधुनिकिकरण गर्ने प्रयास थालेका थिए। नोभेम्बर १८३१मा मुहम्मद अलिले सिरिया र प्यालेस्टाइन पनि आफ्नो नियन्त्रणमा लिन्छन्। प्यालेस्टाइन नियन्त्रणमा लिएसँगै अलिले मुख्यत जेरूसलेमलाई फेरि आठ शताब्दी पहिले झैं धर्मिनिरपेक्ष र बहुधार्मिक सहरका रूपमा विकास गर्न खोज्छन्। युरोपेली आधुनिकताबाट प्रभावित अलि युरोपेलीहरूलाई प्रभावित गर्न र उनीहरूको सहयोग लिन पनि गैर-मुस्लिम अर्थात धिम्मीहरूलाई अधिकार दिन चाहन्थे। तर, उनको सुधारको प्रयाससँग स्थानीय मुस्लिम समुदाय खुशी थिएन। १८३४मा यी सुधारविरूद्ध विद्रोह पनि भएको थियो। यो विद्रोहलाई इजिप्टबाट सेना पठाएर दबाइको थियो। यसपछि पनि सुधारका प्रयास जारी रह्यो र जेरूसलेममा उल्लेख्य मात्रामा यहुदी र इशाईहरूको संख्या बढ्यो। १८४०मा प्यालेस्टाइनमा इजिप्टको अधिपत्य अन्त्य भए पनि जेरूसलेमको अधुनिकिकरण रोकिँदैन। केन्द्रिकृत अटोमन साम्राज्यले पनि धिम्मीहरूलाई अधिकार दिन्छ र सुधारका प्रयासलाई जारी राख्छ।
यदीबेला यहुदीहरूको ‘जिओनिस्ट अभियान’ पनि सुरू भइसेकेको हुन्छ, यसबारे बिस्तृतमा हामी यही लेखको अर्को भागमा कुरा गर्ने छौं। यो अभियानका कारण युरोपभरी फैलिएर रहेका यहुदीहरू जेरूसलेम फर्किन थालेका हुन्छन्। सन् १८४०मा जेरूसलेममा तीन हजार यहुदी, तीन हजार ३५० इशाई र चार हजार पाँच सय इस्लाम थिए। तर, यसको दश वर्षपछि १८५०मा यहुदीको संख्या बढेर ६ हजार पुग्दा इस्लामको संख्या पाँच हजार ३५० र इशाई तीन हजार ६५० थिए।
यसपछि केही समय जेरूसलेम क्रुसेड भन्दा पहिलेकै जस्तो अवस्थामा पुगेको थियो। औद्योगिक क्रान्ति र औपनिवेशिक लुटबाट सम्पन्न बनेका युरोपका इशाई मुलुकहरूले यहाँ इशाई प्रभाव बढाउन र इशाई भवनहरू बनाउन ठूलो रकम लगानी गरिरहेका थिए। यहुदीहरू पनि युरोपभरीबाट आफ्नो सम्पत्तिसहित फर्किइरहेका थिए। जेरूसलेम फेरि एकपटक रंगीन र गुलजार बनिरहेको थियो।
बहुल जेरूसलेम जति गुलजार हुन्थ्यो-त्यति नै संवेदनशील पनि। १८५४मा इशाईका दुई सम्प्रदाय ग्रिक अर्थोडक्स र ल्याटिन क्रिश्चियनबीच दंगा मच्चिँदा शक्तिशाली इशाई राष्ट्रहरू युद्धमा तानिएका थिए। अर्थोडक्स इशाईको संरक्षक रसिया र ल्याटिन इशाईको संरक्षक फ्रान्स युद्धमै उत्रिएका थिए। फ्रान्सको पक्षमा बेलायत पनि थपिएपछि यसले क्रिमिया युद्धसम्मै पुर्याएको थियो। जेरूसलेम अटोमन साम्राज्य आफ्नै पनि महत्वमा छँदै थियो, युरोपेली इशाई देशहरूबाट पनि महत्व पाइरहेको थियो। अर्कातिर, यहुदीहरूको बढ्दो बसाईंसराई र ‘जिओनिस्ट’ राष्ट्रवादको प्रेत बल्झिएपछि प्यालेस्टाइन फेरि अर्को युद्धको भूमरीमा फस्यो। सन् १९१४बाट सुरू भएको प्रथम विश्वयुद्धको अन्त्यसँगै सुरू भएको यो युद्ध आजसम्म जारी छ। यहुदी राष्ट्रवादको उदयदेखि यहुदीप्रतिको घृणा र प्यालेस्टिनी भूमिमा इजरायलको स्थापनाबारे हामी अर्को भागमा छलफल गर्ने छौं।
थप पढ्नुहोस्:
मध्यपूर्वको समस्या र इरानी रणनीति
हमास अतिवाद र इजरायलको राज्य-आतङ्क
इजराइल-प्यालेस्टिन विवादमा भारत किन फुकी फुकी कदम चाल्दैछ?
प्यालेस्टिनी जनता विरुद्ध बर्बरतापूर्ण युद्ध
इजरायल–प्यालेस्टाइन युद्धका मुख्य कारणहरू
तीन हजार वर्ष पहिलेको इजरायल-प्यालेस्टाइन
तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म